सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारेमा एक लाखसम्म जरिबाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारेमा एक लाखसम्म जरिबाना गर्ने निर्णय गरेको हो ।

सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिबाना गर्ने निर्णय गरिएको सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिइन् । त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई ५० हजार जरिबाना गर्ने निर्णय गरिएको उपाध्यक्ष चापागाईंले बताइन् ।

गाउँपालिकाले प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई प्रकाउ गरी जरिबाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहानस्वरूप दिइने प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए ।  

त्यसैगरी निषेधित क्षेत्रमा माछा मार्ने व्यक्तिको बारेमा गोप्य सूचना दिनेलाई ५ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । जरिबाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानूनबमोजिम मुद्दा दर्ताको लागि सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ ।