भद्रपुर । सुधार केन्द्रको शौचालय जाने क्रममा लडेर एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका–४ बरबोटेकी अन्दाजी ५० वर्षीया जीवनकला काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरणअनुसार बिर्तामोड नगरपालिका–५ किरातचोकमा सञ्चालित क्षितिज महिला विकास समाज सुधार केन्द्रमा विगत ३ महिनायता बस्दै आएकी थिइन् । सोमबार राति करिब १० बजेतिर शौचालय जाने क्रममा लडेर बेहोस भएकी थिइन् ।
बेहोस भएकी महिलालाई केन्द्रकी संस्थापक तीलरूपा कटवालले उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पतालपश्चात् थप उपचारका लागि बिर्तामोडकै बी एन्ड सी अस्पताल पुर्याउनासाथ चेकजाँचका क्रममा चिकित्सकले सोमबार राति मृत घोषित गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनापछि कानूनी कारबाहीका लागि शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको उनले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।