धरान । भन्सार छली गरी भारतबाट भित्र्याएको पाँच बोरा चिनी धरान उपमहानगरपालिका–१२ चतरालाइनबाट सोमबार बरामद गरेको छ ।
करिब १६ हजार रुपैयाँ मूल्य बराबरको दुई सय ५० केजी चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिप्रका सुनसरीले दिएको सूचनाअनुसार इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी हवल्दार सत्यमान लामाको कमान्डमा खटिएको टोलीले भारतबाट अवैधरूपमा भन्सार छली गरी ल्याएको चिनी बरामद गरिएको हो ।
यस्तै प्रहरी चौकी पानबारीको टोलीले चेकिङका क्रममा भन्सार छली गरी ल्याएको पेय पदार्थ बरामद गरेको छ । प्रहरीका अनुसार माउन्टेन डिउ ४५ क्यारेट, कोक १० क्यारेट, रेड बुल २४ वटा, लेज ३० प्याकेट, खैनी, ललिपप, आँटालगायत करिब ३२ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

सबै सामान इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिप्रका सुनसरीले जनाएको छ ।