धरान । दुई दशकअघि परिकल्पना गरिएको धरान–८ स्थित नयाँ बसपार्कको भौतिक संरचना सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन नसकेको भन्दै धरान विचार मञ्चले उपमहानगरपालिकालाई तत्काल आवश्यक तयारी पूरा गरी बसपार्क सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघालाई शुक्रबार बुझाइएको ज्ञापनपत्रमा मञ्चले नयाँ बसपार्क सञ्चालन अब धरानका लागि विकल्प नभई आवश्यकता बनिसकेको उल्लेख गरेको छ । हाल भानुचौकस्थित बसपार्क साँघुरो, अव्यवस्थित र बढ्दो जनसङ्ख्या तथा यातायात चाप धान्न असमर्थ बन्दै गएको भन्दै नयाँ बसपार्कलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ ।

मञ्चले बसपार्कको वर्तमान क्षेत्रफल अपर्याप्त रहेको उल्लेख गर्दै दक्षिणतर्फ रहेको रेडियो नेपालको जग्गा पार्किङ प्रयोजनका लागि उपयोग गर्न सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिएको छ । साथै बसपार्क सञ्चालनअघि नगर बस सेवा सञ्चालन, टेम्पो तथा सफारी व्यवसायीसँग सहमति, विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण तथा यात्रुका लागि प्रतिक्षालय, खानेपानी, शौचालय, टिकट काउन्टरलगायतका आधारभूत सुविधा सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ ।

ज्ञापनपत्रमा बसपार्क सञ्चालन सम्बन्धी निर्णय सर्वपक्षीय छलफल र सहमतिका आधारमा गर्नुपर्ने तथा बस छुट्ने समय तालिका, भाडादर र टिकट व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरिएको छ । बसपार्कसम्म पुग्ने मुख्य सडकहरू स्तरोन्नति गरी नगर बस सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिइएको छ ।

धरान विचार मञ्चले इटहरी, इनरुवा र लहानमा ठूलो लगानीमा निर्माण भएका बसपार्कहरू पर्याप्त योजना र व्यवस्थापनको अभावमा प्रभावकारी बन्न नसकेको उदाहरण प्रस्तुत गर्दै धरानको नयाँ बसपार्कले त्यस्तो नियति भोग्न नपरोस् भनेर समयमै गृहकार्य गर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

यसैबीच मञ्चले धरानमा बढ्दो बाँदर आतङ्क, मोटरसाइकल तथा सवारीसाधनबाट हुने ध्वनि प्रदूषण र भानुचौक सब्जी बजारभित्र मोटरसाइकल, टेम्पो तथा ठेलागाडा सञ्चालन रोक्नुपर्ने विषयमा पनि उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । धरान विचार मञ्चका अध्यक्ष डा. आनन्दप्रसाद आचार्य, उपाध्यक्ष डा. खालिद हुसेन हक, सचिव विजय श्रेष्ठ, प्रवक्ता वीरेन्द्रसिंह थापा र कोषाध्यक्ष रुकमणि मास्केले हस्ताक्षर गरेका छन् ।