विजयपुर । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब साढे दुई लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न प्रहरी इकाईबाट खटिएको टोलीले किराना, लत्ताकपडा तथा इलेक्ट्रोनिक सामानसहित कुल २ लाख ३० हजार ८ सय ७६ रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय दुहवीको टोलीले १५ हजार ६ सय ५६ रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । त्यस्तै, भोक्राहा नरसिंह प्रहरी चौकी चिरौली चोकको टोलीले ५० हजार रुपैयाँ बराबरको किराना सामान नियन्त्रणमा लिएको छ ।
सिशुवाधरमपुर प्रहरी चौकीले ३० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ४१ हजार १ सय रुपैयाँ बराबरको किराना सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको टोलीले १८ हजार ५ सय २० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले ७ हजार रुपैयाँ बराबरको किराना सामान नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, दुहवी क्षेत्रकै अर्को टोलीले ६८ हजार ६ सय रुपैयाँ बराबरको किराना तथा इलेक्ट्रोनिक सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।