denguशनिश्चरे, मोरङ/ मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा २ महिना अघि नै डेंगु फैलाउने जातको लामखुट्टे फेला परेपनि रोग नियन्त्रणमा सम्बन्धित निकायको निष्कृयताका कारण २ जना संक्रमित भएका छन् । छिमेकी जिल्ला झापाको दमक हुँदै छिमेकी नगरपालिका उर्लाबारीमा डेंगुका विरामी फेला परेको अवस्थामा पथरीमा पनि डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे फेला परेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयको अगुवाईको गत कातिक ११ गतेको अनुगमनमा चोकमा टायरमा जमेको पानीमा त्यस्तो लामखुट्टे र प्रसस्त लार्भाहरु फेला परेका थिए । त्यसबेला जनस्वास्थ्यबाट आएको टोलीका प्रमुख सिनियर अहेव डिल्लीराम श्रेष्ठले जिल्लाबाट लामखुट्टे नियन्त्रणमा पहल गर्ने बताएका थिए । पथरी स्वास्थ्य चौकी प्रमुख मुरारी आचार्य र नगरपालिका कार्यालयका प्रमुख विनोदकुमार भण्डारीले पनि सहकार्य गरेर सरसफाई गर्ने बताएका थिए । अघिल्लो दिन पथरी र उर्लाबारीमा डेंगु सचेतना गोष्ठी गरेपछि अनुगमन थालिएको थियो । तर, त्यसपछि बजार क्षेत्र सरसफाई गर्ने भनेर भनिएपनि सरसफाईमा कसैले चासो नराख्दा यसबेला २ जनामा सो संक्रमण देखा परेपछि मात्र मंगलबार जिल्ला जनस्वास्थ्यको टोली पुन पथरी आयो । तर टोलीले सरसफाई गर्दै लामखुट्टे नियन्त्रण गर्नुको साटो यसअघि नै गरिएको डेंगुको बारेमा गोष्ठी दोहोर्याइ भत्ता बाँढेर झारो टार्ने काम गरेको छ । पथरी स्वास्थ्य चौकीमा आयोजित गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त भेक्टर कन्टेल अधिकृत वासिल मियाँ र ल्याव टेक्लोलोजिष्ट राजेन्द्र चौधरीले डेंगु, चिकन गुनिया सहितका रोगका बारेमा जानकारी गराए । उनले पथरी बजारका १ महिला र एक पुरुष तथा उर्लाबारीमा हालसम्म ९ जनामा डेंगुको संक्रमण फेला परेको भन्दै सचेत हुन जनाउ दिए । पथरीका विरामीको मोरङ हस्पिटल र स्वास्थ्य चौकीले डेंगु संक्रमण भएको पुष्टि गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई उनीहरु घर फर्किएका छन् । सो अवसरमा स्थानीयले यसअघि पथरीमा डेंगु सार्ने लामखुट्टे फेला परेको अवस्थामा जनस्वास्थ्यले चासो नदेखाउँदा संक्रमण फैलिएको टिप्पणी गरेका छन् । स्वास्थ्य चौकी सञ्चालक समिति सदस्य समेत रहेका रुपनारायण भट्टराईले भने ‘यसअघि नै लामखुट्टे भेटिएको क्षेत्रमा आजसम्म नियन्त्रणको काम किन भएन ? चिसो मौसम थिएन भनें यसबेला डेंगुको महामारी नै हुने रहेछ ।’ जवाफमा निमित्त भेक्टर कन्टेल मियाँले भने ‘त्यो बेला हामीले गर्न खोजेपनि कता कताबाट बाधा अड्चन आयो, अव चाँही गर्न सक्छौं ।’ उनले त्यसखाले जवाफ दिदाँ दिँदै ल्याव टेक्लोलोजिष्ट चौधरीले कुरा मोड्दै भने ‘हामीसँग आर्थिक समस्याका कारणले हो । नगरपालिकासँगको सहकार्यमा रोग नियन्त्रणका लागि विषादि छर्किने कुरामा पहल गर्नु आवश्यक छ ।’ यसअघिको अनुगमनमा अस्पताल क्षेत्र लगायतका विभिन्न ठाउँमा इजिप्टाई लामखुट्टेलाई अनुकुल हुने प्रसस्त ठाउँ फेला परेका थिए । कार्तिक १२ गतेको ब्लाष्ट खवरमा डटकममा ‘डेंगु सार्ने लामखुट्टे फेला, सरसफाईमा बेवास्ता’ शिर्षकमा समाचार आएको थियो । तर हालसम्म यसको नियन्त्रण तथा सरसफाइ नगर्दा संक्रमण फैलिन पुगेको पाइएको छ । पथरी बजार तथा चोक क्षेत्रमा एडिस एजिप्टाइ लामखुट्टेको वासस्थानका रुपमा देखिएका प्रसस्त मात्रामा अव्यवस्थित रहेका पानी जमेका टायरहरु, पानी जमेका बोतल, टोक्री तथा स्थिर रुपमा पानी जमिरहेकास्थलहरु समेत फेला परेका छन् । पथरी बजार क्षेत्र डेंगु मात्र नभएर लामखुट्टेजन्य सवैखाले रोगको उच्च जोखिममा रहेको क्षेत्रमा पर्दछ । झिसमिसे साँझ र मिर्मिरे विहानीमा सक्रिय हुने एडिस एजिप्टाई लामखुट्टेले टोक्दा डेंगु भई उच्च ज्वरो आएर ज्यान समेत जानसक्ने खतराबाट बच्न लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय हुने स्वास्थ्यकर्मीहरुले उल्लेख गरेका छन् । भाइरसबाट हुने संक्रमणको खास उपचार नै हुँदैन । ज्वरो कम गर्न र प्रतिरोध क्षमता बढाउने उपायको उपचार मात्र हुने गरेको छ ।