धनकुटा/एचआईभी सङ्क्रमित व्यक्तिका लागि धनकुटामा सामुदायिक हेरचाह केन्द्रको स्थापना गरिएको छ । एचआईभी सङ्क्रमितलाई कुनै स्वास्थ्य केन्द्रमा नभई बाहिरी वातावरणमै रहेर मनोसामाजिक सहयोग, सही सूचना प्रवाह र सहज उपचार गराउनुका साथै औषधि उपचार तथा एचआईभी रोकथाम गर्ने उद्देश्यले केन्द्र स्थापन गरिएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक सहयोग र धरान पोजेटिभ समूहको व्यवस्थापकीय सहयोगमा सामुदायिक हेरचाह केन्द्र स्थापना गरिएको जनाइएको छ । धरान पोजेटिभ समूह र केन्द्रले बुधबार मुख्य सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएका हुन् ।  जिल्लामा रहेका सङ्क्रमितहरूका लागि सकारात्मक रोकथाम, सङ्क्रमण रोकथाम, शिक्षा तथा उपचार साक्षरता, हेरचाह, सहयोग तथा पोषणलगायतका सेवा प्रदान गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको केन्द्रका परियोजना सहवित्त अधिकारी युवराज काफ्लेले बताए ।

गत पुस ८ गतेदेखि टुँडिखेलमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्न थालिएको उनले बताए । हालसम्म केन्द्रबाट चारजना सङ्क्रमितले सेवा लिइरहेको केन्द्रका रोशन भट्टराईले जनाए । सात महिनासम्म परियोजना सञ्चालनका गर्न ७ लाख ५० हजार २ सय ६७ रुपैयाँ छुट्याइएको पनि जनाइएको छ ।