काठमाडौं/ कानुन मन्त्रालयले सहमति दिए यो महिनाभित्रै शिक्षा नियमावली आउने सम्भावना रहेको छ । कात्तिक महिनामै शिक्षा मन्त्रालयले नियमावलीको पहिलो मस्यौदा तयार गरेपनि प्रक्रियागत रुपमा अघि बढ्नुपर्दा समय लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयमा एक महिनाभन्दा धेरै समय थन्किएको मस्यौदा गएको माघ १० गते कानुन मन्त्रालयमा पठाइएको छ । अहिले त्यहाँ दोस्रो चरणको अध्ययन शुरु भएकाले अब छिट्टै शिक्षा नियमावली तयार हुने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए ।शिक्षा ऐन संशोधनको सात महिनापछि नियमावली संशोधनको प्रक्रिया अघि बढेको हो ।

कानुन मन्त्रालयले सहमति दिएपछि शिक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषदले पारित गरेपछि शिक्षा नियमावली कार्यान्वयनमा आउनेछ ।

यसअघि अर्थले ठूलो खर्च बेहोर्नुपर्ने भन्दै सहमति नदिँदा नियमावली संशोधन प्रक्रिया रोकिएको थियो । नियमावली कार्यान्वयन गर्न २७ अर्ब रुपैयाँ खर्च लाग्ने भएकाले अर्थले सहमति दिन आनाकानी गरेको थियो । त्यो खर्चलाई वार्षिक आधारमा भाग लगाएपछि अर्थले सहमति जनाएपछि मस्यौदा कानुन मन्त्रालयमा पुगेको हो ।