काठमाडौं/ स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु निर्वाचनअन्तर्गत आज(शनिबार) उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार आज सार्वजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ता गरिने छ ।

आठ वर्ष पछि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि गर्न लागिउको हो । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइँदैछ ।

त्रिविले सार्वजनिक गरेको तालिका अनुसार फागुन १४ गते आज उम्मेदवारी दर्ता, १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने छ । निर्वाचनको सुरक्षाका लागि क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यद्यपि, कतिपय क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा निर्वाचन नहुने अवस्था आएको छ । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीले शुक्रबार राति लेखा शाखामा आगजनी गरेकम छन् ।

आगजनीबाट करीब ५० लाख रुपैयाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । त्यहाँ निर्वाचन पनि अनिश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी गरिएको छ । उता, मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाका प्रमुख क्याम्पसहरुमा ताला लगाएका छन् ।

धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लाका क्याम्पसमा उनीहरुले स्ववियु निर्वाचन हुन नदिने बताएका छन् ।