शनिश्चरे/ आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा शनिबार ५ वटा प्यानल खडा भएर उम्मेदवारी दिएका छन् । जसमा स्ववियू अध्यक्षमा नेपाल विद्यार्थी संघबाट गोपालकुमार साँवा, अनेरास्ववियूबाट रोशन गुरुङ, अखिल क्रान्तिकारी प्रचण्डबाट दीपेन्द्र धमला, नयाँ शक्ति विद्यार्थी युनियनबाट टीकाराम बराल र अखिल ( क्रान्तिकारी) ने.क.पा.क्रन्तिकारी माओवादीबाट उत्तम राईको उम्मेदवारी परेको छ ।
समानुपातिक सदस्य तर्फ भनें आदिवासी/जनजाति विद्यार्थी युनियनको समेत उम्मेदवारी परेकाले उम्मेदवारी पर्ने संगठनको संख्या ६ पुगेको छ । निर्वाचनका लागि विभिन्न पदमा ४० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक चेतन पौडेलले जनाएका छन् ।
उर्लाबारी बहुमूखी क्याम्पसमा ३ वटा प्यानलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल, एमालेनिकट अनेरास्ववियु र संघीय समाजवादी विद्यार्थी फोरम गरी त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । स्ववियु अध्यक्षमा संयुक्त प्यानलको तर्फबाट नेविसंघका सुजित जैसवाल, अनेरास्ववियको तर्फबाट गणेश घिमिरे र संघीय समाजवादी विद्यार्थी फोरमको तर्फबाट विनोद लिम्बुले उम्मेदवारी दिएका छन् ।
झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियूबाट सन्तोष दूलाल, नेपाल विद्यार्थी संघबाट बिनोद चापागाइ र माओवादी केन्द्रबाट रवि बस्नेतले अध्यक्षको उम्मेदवारी दिएका छन् । तीनवटै अध्यक्षका उम्मेदवारहरु अहिले प्यानल बनाएर मत माग्नमा ब्यस्त बनेका छन् ।