इनरुवा / सुनसरीमा आइतबार दोस्रो दिनसमेत पोलियो थोपा कार्यक्रम सञ्चालनमा हुन सकेन । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितको टोलीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार केही बालबालिकालाई पोलियो थोपा खुवाएर कार्यक्रमको औपचारिक थालनी गरे पनि स्वास्थ्यकर्मीहरूको असहयोगका कारण दोस्रो दिनसमेत अभियान प्रभावित रह्यो । जारी आन्दोलनमा स्वास्थ्यकर्मी ट्रेड युनियन सङ्घर्ष समिति पूर्वाञ्चलकै अगुवाइ गरिरहेका सुनसरीका स्वास्थ्यकर्मीहरूले जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना जारी राखेपछि सुनसरीसहित वरपरका जिल्लामा पोलियो थोपा कार्यक्रम सञ्चालनमा आउन नसकेको हो । प्रशासनले पोलियो थोपा कार्यक्रम सञ्चालन गराउने प्रयास गरे पनि स्वास्थ्यकर्मीहरूको असहयोगका कारण सम्भव हुन सकेन । स्वास्थ्य मन्त्रालयले अटेर गरी कार्यक्रम बहिस्कार गर्ने स्वास्थ्यकर्मीहरूको सूचि तयार पारी कारवाहीको तयारी गरिरहँदा स्वास्थ्यमा क्रियाशील संयुक्त ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आपूm पायकको मिति घोषणा गरी अभियान सञ्चालन गर्न आइतबार पत्राचार गरेको छ । संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिका सुनसरीका अध्यक्ष महेश पोखरेलका अनुसार सुनसरीसहित अभियान प्रभावित भएका जिल्लाहरूमा यही फागुन २४ र २५ गते पोलियो थोपा कार्यक्रम सञ्चालनमा ल्याइने छ ।