[caption id="attachment_32895" align="aligncenter" width="800"]
?[/caption]
धरान/सप्तरीको राजविराजमा सोमबार भएको झडपमा मृत भनिएका दिगम्बर यादव जीवितै रहेको पुष्टि भएको छ। घटनामा तीन जनाको मात्रै मृत्यु भएको बताइएको छ ।
सप्तरीको राजविराजमा सोमबार भएको घटनालगत्तै मधेसी मोर्चाले चार जनाको मृत्यु भएको विज्ञप्ति निकालेको थियो । त्यसमध्ये दिगम्बरको नाम दोस्रो नम्बरमै थियो । मोर्चाका नेताहरुले घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको र अर्का एकजनाको घोषणामात्रै हुन बाँकी रहेको बताएका थिए ।
मोर्चाले विज्ञप्तिमा छोरा मृतकको सूचीमा देखेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका उनका पिता रामपुज यतिबेला झसंग भए, जतिबेला उनको छोराको उपचार भइरहेको थियो । दिगम्बरको ढाडमा एउटा गोली लागेको छ । सर्जरी वार्डमा राखेर उपचार गराइएका दिगम्बर राम्ररी बोल्न र घटनाबारे बताउन सक्ने अवस्थामा रहेको पिता रामपुजले बताए । दिगम्बर पेशाले वकिल हुन् । उनी नेपाल बार एसोसिएसन सप्तरीका कोषाध्यक्ष समेत हुन् ।
आफू आन्दोलनमा नगई हेर्नमात्र गएको दिगम्बरले बताए । ;एक किलोमिटर टाढा बसेर हेरिरहेको थिएँ, तर गोली लाग्यो।’- उनले भने । म माेर्चाकाे कार्यकर्तापनि हाेइन,म मरेकाेपनि छैन उनले भने ।
धरानमा दिगम्बरसहित जीतेन्द्रकुमार महतो, इन्द्र यादव, दिलिप यादव, सुरेन्द्रकुमार साह, जीतेन्द्र साह र एमाले कार्यकर्ता धनपती पाठकको उपचार भइरहेको छ। जसमध्ये इन्द्र यादवको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन्।
सप्तरीमा सोमबार सशस्त्र प्रहरीको गोली लागेर सञ्जन मेहताको घटनास्थलमै गोली लागि मृत्यु भएको थियो । छ महिना अघि मात्रै नेपाल फर्केका सञ्जनले राजविराजमा पान पसल संचालन गर्दै आएका थिए ।
यसैगरी, गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको भने बिपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
धरानमा उपचारका लागि लगिएका लक्ष्मण यादव, दिनेश साह, जक्कु साह, अरुणकुमार यादव, पशुपति यादव र विरेन्द्र कुमार यादव तथा प्रहरीहरु रमेश मंग्राती र रञ्जीत सिंह भने उपचारपछि डिस्चार्ज भएका छन्।