धरान/औषधि व्यवस्था विभागद्वारा प्रतिबन्धित भारतीय औषधिहरु धरानका औषधि पसलहरुमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । [caption id="attachment_32971" align="alignnone" width="700"] धरानको मेडिकल हलको अनुगमन गर्दै औषधि व्यवस्था विभागका क्षेत्रीय प्रमुख सम्भू साह । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अघिल्तिर खुलेका बग्रेल्ती मेडिकल हलहरुले भारतीय औषधि महंगो मूल्यमा बिक्री भइरहेको अनुगमनका क्रममा फेला पारेको हो । अनुगमनका क्रममा ‘लागू तथा मनोदिपक औषधि’ फेला पारेको हो । औषधि व्यवस्था विभागमा दर्ता नभएको भारतीय औषधि बिक्री वितरणका लागि सञ्चय गरेकाले निलम्बनको प्रक्रियामा विभाग रहेको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सम्भू साहले बताए । ‘नाफा कमाउने उद्देश्यले गेट बाहिर बिना दर्ताका औषधिहरु छ्यापछ्याप्ती बिक्री वितरण गरेको पायौं ।’ प्रमुख साहले भने, ‘न्युट्रास्युटिकलजन्य औषधि फिर्ता गर्न निर्देशन दिएका छौं ।’ प्रतिष्ठान गेट बाहिर झण्डै १ सय ४० औषधि पसलहरु रहेका छन् । त्यसमध्ये अधिकांस मेडिकल हलहरुले लुकाएर त्यस्ता औषधि बिक्री वितरण गर्ने गरेका छन् । यस अघि पनि सुजिता फार्मेसीले प्रतिबन्धित औषधि बिक्री वितरण गरेको पाइएको थियो । अनुगमनका क्रममा त्यस्ता औषधि पसलहरुलाई शिलबन्दी गर्दै अर्को पटक भेटिएमा सबै औषधिहरु जफत गर्ने कडा चेतावनी दिएको छ । अनुगमनका क्रममा आमा फार्मेसीमा उक्त औषधि फेला परेको थियो । अनुगमनमा लाइसेन्स होल्डर मेडिकल हलहरुका सञ्चालक नभएकाले विभागमा आउन निर्देशन दिँदै शिलबन्दी गर्दै चावी विभागले नै लिएर गएको छ । शिलबन्दी गरिएका औषधि पसलहरुमा माँकंकालिनी फार्मेसी, चाँच मेडिकल हल, श्याम मेडिको, स्काई मेडिकल हल, स्वेता फार्मेसी, बाबा बैजनाथ मेडिकल, माता शक्ति मेडिकल हल लगायत छन् । उनीहरुलाई विभागमा आउन निर्देशन दिँदै चावीसमेत विभागले नै लिएर गएको हो । त्यस्तै अनगुमन आएको थाहा पाएपछि झण्डै ३० भन्दा बढी मेडिकल हलहरुले बन्द गरेर फरार भएका थिए । त्यस्ता मेडिकल हलहरुको फोटो तथा नाम लेखेर विभागले लगेको छ । ‘बन्द गरेर भाग्ने मेडिकलहरुलाई पनि हामी कारबाहीको दायरामा ल्याउँछौं ।’ प्रमुख साहले भने, ‘सबैको फोटो खिचेर नाम टिपेर लगेका छौं । अव बच्ने मौका कमै हुन्छ ।’ अनुगमन आएको थाहा पाएपछि त्रिशक्ति फर्मा, धरा मेडिको, अनु फार्मेसी, एबी फर्मा, भण्डारी मेडिकल हल, सुजिता फार्मेसी, स्वेता फार्मेसी, गोपीकृष्ण फार्मेसी, घोपा औषधि पसललगायतका मेडिकल हलका सञ्चालकहरु फरार रहेका थिए । ‘अनुगमन आएको थाहा पाउने बित्तिकै यहाँ यसरी नै बन्द गरेर भाग्ने गरेका छन् ।’ एक मेडिकल हलका सञ्चालकले नाम नछाप्ने शर्तमा भने, ‘त्यस्ता मेडिकल हलहरुलाई खारेजी गर्नुपर्छ ।’ अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले सुरक्षा प्रदान गरेको थियो भने इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।