पाँचथर/ जिल्लाको फिदिम न.पा.–११ पात्ले भन्ज्याङमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि तीन दिने चेतनामुलक तालिम मंगलबार सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवशर पारेर महिला शशक्तिकरण समूह पाँचथरले तालिमको आयोजना गरेको हो ।

फिदिम नगरपालिका १० र ११ का २५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण महिला शशक्तिकरण समूह पाँचथरका अध्यक्ष रावित्रीदेवी गुरुङ र अनमी हेमन्ता राईले गरेका थिए । तालिममा प्रजनन् नली, प्रजनन् अंग र प्रजनन् प्रक्रियाको विषयमा जानकारी गराइएको थियो ।

त्यस्तै महिलाहरुको पाठेघर खस्ने समस्या, त्यसका लक्षण र उपचार साथै पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने तरिका लगायतका विषयमा पनि जानकारी गराइएको थियो । सो तालिम सेवा संस्था ललीतपुरको आर्थिक सहयोगमा सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष गुरुङले जानकारी दिए ।