धनकुटा/ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घमा आबद्ध धनकुटाका पुस्तक व्यवसायीहरूले पुस्तक खरीद गर्दा अधिकांश विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले कमिसन माग्ने गरेको गुनासो गरेका छन् । जिल्ला शिक्षा कार्यालयले शैक्षिक सत्र ०७४÷०७५ मा सामुदायिक विद्यालयहरूमा निःशुल्क वितरण गरिने पाठ्यपुस्तकहरू कसरी पु¥याउन सकिन्छ भन्नेबारे सोमबार आयोजना गरेको सर्वपक्षीय भेलामा जिल्ला शिक्षा अधिकारी रामबहादुर थापासँग व्यवसायीहरूले यस्तो गुनासो गरेका हुन् ।
उनीहरूले पछिल्लो किस्ताको रकम नआएको बताउँदै पुस्तक उधारोमा लैजाने गरेको तर शैक्षिक सत्र सकिन एक महिना बाँकी रहँदासमेत भुक्तानी नगरेको जनाए । सो अवसरमा सङ्घका धनकुटा सचिव खेमराज पौडेलले भने, ‘हामी जिल्ला शिक्षा कार्यालयले दिएको विद्यार्थी सङ्ख्याको डाटा हेरेर पुस्तक ल्याउँदैनौँ ।’
उनले विद्यालयले पहिले नै रकम दिएर पुस्तक अर्डर नगरेसम्म पुस्तक नल्याउने बताए । जनक शिक्षा सामग्री केन्द्रले ९ प्रतिशत कमिसन दिने तर ढुवानी खर्च पनि नदिने र बिक्री नभएको पुस्तक पनि फिर्ता नलिने जनाउँदै उनले भने, ‘अब हामीले शिक्षकहरूलाई कसरी कमिसन दिनु ?’ सो अवसरमा जिल्ला शिक्षा अधिकारी थापाले जिल्लाका २ सय ९९ सामुदायिक विद्यालयका लागि पुस्तक खरीद गर्न पहिलो किस्ताबापत रकम सबै विद्यालयका खातामा हालिसकेको बताए ।
थापाले चैत मसान्तभित्र हरेक विद्यालयमा पुस्तक अनिवार्य पुर्याउन पनि स्रोतव्यक्ति, प्रधानाध्यापक र पुस्तक व्यवसायीलाई अनुरोध गरे । थापाले कमिसन माग्ने विद्यालयका नाम दिन व्यवसायीहरूलाई अनुरोध गरे । सो अवसरमा शिक्षा कार्यालयका कार्यक्रम अधिकृत फाल्गुनीप्रसाद काफ्ले, स्रोतव्यक्तिहरू, पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घका धनकुटा अध्यक्ष विक्रम कार्की, पत्रकार महासङ्घका धनकुटा अध्यक्ष विक्रम कार्की, फोनिजका धनकुटा अध्यक्ष सन्तवीर लामालगायत उपस्थित थिए ।