तरहरा /नेपाल र भारतको सीमा छुट्याउने सीमास्तम्भ पूर्वका नौ जिल्लामा ६ सय ६६ वटा गायब भएका छन् । पूर्वमा रहेका २ हजार ६ सय १३ सीमास्तम्भमध्ये ६ सय ६६ वटा गायब भएका हुन् ।
सशस्त्र प्रहरीको पकलीस्थित पूर्वी क्षेत्रीय मुख्यालयमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच सोमबार भएको दुईपक्षीय बैठकमा यो विषय उठेको हो । पूर्वको सप्तरीमा सबैभन्दा धेरै सीमास्तम्भ हराएका छन् । सप्तरीमा ५ सय ६० मध्ये ३ सय ९९ वटा स्तम्भ हराएका छन् । त्यस्तै झापामा ८ सय ९८ मध्ये १ सय २७ वटा हराएका छन् । मोरङमा १ सय २४ मध्ये ३०, सुनसरीमा २ सय ९० मध्ये ४०, सिरहामा ३ सय ८८ मध्ये ६८, पाँचथरमा ९४ मध्ये २ स्तम्भहरू हराएका छन् । त्यस्तै बाँकी रहेका अधिकांश स्तम्भहरू नदीले बगाएको भने केही जीर्ण अवस्थामा छन् । पूर्वमा १ हजार ६४ वटा स्तम्भ मात्र राम्रो अवस्थामा भएको सशस्त्र प्रहरीको पकली कार्यालयले जनाएको छ ।
पूर्वका सीमास्तम्भमध्ये सामान्य मर्मत गर्नुपर्ने ६ सय ६८, पूर्ण निर्माण गर्नुपर्ने १ सय ९ र १ सय २६ वटा नदीले बगाएको आँकडा नेपाल–भारत बैठकले सार्वजनिक गरेको हो । बैठकले यससँगै आसन्न स्थानीय निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सहयोग आदान–प्रदान गर्ने निर्णय पनि गरेको छ । मर्मत–सम्भार गर्नुपर्ने स्तम्भका हकमा दुईपक्षीय सर्वेबाट भइरहेको कार्यलाई निरन्तरता दिने तथा हराएका र भत्किएका तथा खतरामा परेकालाई निगरानी गर्ने सहमति भएको सशस्त्र प्रहरी बलको पूर्वी मुख्यालय वराह वाहिनीका डीआईजी जानकीराज भट्टराईले जनाए ।
बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) को सेक्टर हेडक्वार्टर गान्टोक सिक्किमबाट डीआईजी भन्डन सेक्षना तथा हेडक्वार्टर रानीदङ्गा सिलिगुडीका डीआईजी बीके पाल बैठकमा सहभागी भएका थिए । पालले भने, ‘हामी नेपालको स्थानीय चुनावमा सीमा क्षेत्रमा पूर्ण रूपमा सहयोग गर्छौं ।’ नेपाल–भारत सुरक्षाका लागि सीमाक्षेत्रमा नियमित अनुगमनका साथै पूर्वी नेपालका नाकाहरूबाट हुने मानव ओसारपसार तथा मानव बेचविखान नियन्त्रणमा सक्रियता देखाउने सहमतिसमेत दुवै पक्षबीच भएको छ । पूवी नाकाबाट हुनसक्ने वन्यजन्तु तथा जडिबुटीजन्य तस्करीलाई समेत विशेष निगरानी गर्ने सहमति भएको डीआईजी भट्टराईले जनाए ।
सीमास्तम्भ गायब भएपछि अहिले दसगजा क्षेत्र अक्रिमण गरेर घर–टहरा निर्माण र बालीनाली लगाउने क्रम बढ्दो छ । ४ फिट देखि ८–१० फिटसम्म अग्ला सिमेन्ट र कङ्क्रिटले बनेका सीमास्तम्भ जसले पायो त्यसले सजिलै भत्काउन सक्ने अवस्थामा हुँदैनन् । तर पनि यति धेरै सङ्ख्यामा स्तम्भ गायब हुनुबाट अतिक्रमण गर्ने मानसिकता बोकेकाले भत्काएर गायब गरेको सहज अनुमान गर्न सकिन्छ । पूर्वका नौ जिल्लामा देखिएको अतिक्रमणको अवस्था र सम्भावित अतिक्रमणका गतिविधिबारे सूचना र तथ्याङ्क सङ्कलन गरी दुवै देशका सरोवारवालालाई जानकारी गराएर समस्या समाधान गर्ने निर्णय पनि दुईपक्षीय बैठकमा भएको छ ।