धरान/पब्लिक उच्चमाविका २०३१ सालका एसएलसी ब्याचका विद्यार्थीहरुले स्कुलमा समय स्तम्भ निर्माण गरेका छन् ।
उक्त समय स्तम्भको शनिबार एक कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ । समय स्तम्भको समुद्घाटन गुरु राजेन्द्रप्रसाद आचार्य, रेवतीनन्दन झा र पूर्व अञ्चलाधिस सूर्यप्रसाद उपाध्यायले गरे । २०३१ सालका ब्याचहरुले ‘पब्लिक उच्चमावि एल्मुनाई एसोसिएसन–२०३१’ संस्था गठन गर्दै ४ लाख ५० हजार रुपैया बराबरको सयम स्तम्भ निर्माण गरेको अध्यक्ष डा. राजेन्द्र शर्माले बताए ।
यसैबीच पब्लिक स्कुलबाट एसएलसी पहिलो ब्याचबाट प्रथम डिभिजन ल्याएर उर्तीण हुने विएकृष्ण श्रेष्ठलाई सम्मानित गरिएको छ । एसोसिएसनमा ९१ जना विद्यार्थीहरु आवद्ध छन् । आफूले पढेको स्कुलमा आफ्नो जीवनकालमा गौरव गर्न लायक केही काम गरौं भन्ने लागेर सबै विद्यार्थीहरुको सल्लाहमा समय स्तम्भ निर्माण गरिएको डा. शर्माले बताए ।
एसोसिएसनले ८ लाख भन्दा माथिको अक्षयकोषसमेत खडा गर्ने घोषणा गरेको छ । कार्यक्रममा २०३१ सालका ब्याचका विद्यार्थीहरुसहित शिक्षासेवी, बुद्धिजिवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।