विराटनगर / यहाँस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विपन्न समुदायका लागि सात प्रकारका उपचार सेवा निःशुल्क रूपमा सञ्चालनमा ल्याएको छ ।

नोबेलले आइतबार पत्रकार सम्मेलन गरी सरकारको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार सो सेवा सञ्चालन गरेको जानकारी दिएको हो । अस्पतालका निर्देशक डा राजेश नेपालका अनुसार अस्पतालमा भर्ना भएका प्रसुतीबाहेकका अन्य बिरामीका लागि बढीमा एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क प्रदान गरिने बताए । अस्पतालले मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन र प्रसुती सेवा निःशुल्क प्रदान गर्न लागेको हो । प्रसुती सेवा नोबेलले यसअघि नै निःशुल्क सञ्चालनमा ल्याएको हो । नोबेलले पहिले शुरु गरेर बीचमा बन्द गरेको मृगौला रोगको हेमोडाइलाइसिस सेवा पनि पुनः निःशुल्क गरेको अस्पतालले जनाएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसुतीबाहेक अन्य निःशुल्क उपचार सेवा लिने बिरामीले सम्बन्धित गाउँ वा नगरपालिकाको अनुमति लिएर जिल्ला जनस्वास्थ्य कार्यालयबाट विपन्न भएको सिफारिसपत्र पेश गर्नुपर्छ । सरकारबाट प्रमाणित सक्कली कागजात प्राप्त भएपछि उपचार सेवा निःशुल्क प्रदान गरिने भएको छ ।