तरहरा / इटहरी–१९ मा रहेको पञ्चायत रजत जयन्ती माविमा कम्प्युटर वितरण गरिएको छ । विद्यालयको आर्थिक स्रोत नभएपछि नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र स्थानीय दुर्गा पौडेलको लगानीमा कम्प्युटर वितरण भएको हो । सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या समेत कमी हुँदै गएकोले विद्यार्थीलाई आकर्षित गर्न पनि कम्प्युटर वितरण गरिएको काङ्ग्रेस २ नम्बर क्षेत्रीय सभापति श्रेष्ठले बताए । यता विद्यालयका प्रधानाध्यापक दीपनारायण साहले विद्यालयमा आवश्यक परेको एक थान कम्प्युटर आएको भन्दै खुशी व्यक्त गरेका थिए । विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हँुदै गएको उनले बताए । कक्षा ८ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा जम्मा १ सय ७८ जना मात्र विद्यार्थी छन् । गाउँगाउँमा खोलिएका निजी स्कुलहरुको कारण ग्रामीण क्षेत्रका सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको खडेरी लाग्न थालेको छ ।