इलाम । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् । इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्याग्रस्त बनेर अस्पताल आउने गरेको बताए । सुरक्षित गर्भपतन सेवा निःशुल्क भइसके पनि सेवाग्राही असुरक्षित र अनैतिक तरिकाले गर्भधारण गरेपछि समाजको डर–त्रासका कारण कतिपयले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेका छन् । अघिल्लो वर्ष मात्रै असुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता निम्तिएपछि ९१ जनाले अस्पतालबाट सेवा लिएका थिए । “धेरैले पहिले औषधि किनेको ठाउँ भन्न चाहँदैनन्”, इलाम अस्पतालकी स्टाफ नर्स सबिना श्रेष्ठले भने, “जटिल अवस्थामा पुगेपछि दुःख पाइयो भनेर आउने धेरै छन् ।” जिल्लाका फिक्कल, मङ्गलबारे, प्याङ प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पतालका साथै जिल्लाको केही स्वास्थ्य चौकी गरी १५ ठाउँबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेको छ । रासस
समाजको डर–त्रासका कारण असुरक्षित गर्भपतन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































