१४ वर्ष पुग्न नपाउँदै काठमाडौं छिरेँ, अध्ययनका लागि । घर परिवार मध्यम वर्गको भएकाले लाउन खानको दुःख थिएन । एलएलसी सकेर काठमाडौं आएलगत्तै ‘एडभान्स कोर्स’मा भर्न गरेँ । उद्देश्य थियो, ‘साइन्स’ पढ्ने । कलेज भर्ना हुने वेलासम्म बिस्तारै काठमाडौंको वातावरणमा घुलमिल हुँदै थिएँ । पाटन क्याम्पसमा पढाइ सुरु गरेँ । त्यतिवेला घरमा बा–आमाको चाहना साइन्समा राम्रो गरेर छोरो डाक्टर बनोस् भन्ने थियो । मैले पनि त्यही अठोट लिएको थिएँ । म हरपल सोच्थेँ, ‘आइ एम वन्ली फर डक्टर’ । डाक्टर बन्ने रुचि थियो, तर गीतसंगीत त सुनिहालिन्थ्यो । एफएमहरू छ्याप्छ्याप्ती खुल्ने क्रममा थिए । रोजी–छाडी गीत सुन्न पाइन्थ्यो । गीतसंगीत सुनेर रमाइलो मानिन्थ्यो, तर गायक या संगीतकार बन्ने रहर भने थिएन । नारायणगोपाल, कुमार सानु, रामकृष्ण ढकाललगायतका गीत सुन्थेँ र हल्का गुनगुनाउथेँ पनि । त्यतिवेला गायक बन्ने त सपनामा पनि सोचेको थिइनँ । घरमा गीत सुन्दै गुनगुनाउँदै गर्दा कहिलेकाहीँ कलेजमा पनि फुत्किँदो रहेछ । गीतमा मेरो स्वर सुनेपछि साथीहरूले तेरो स्वर राम्रो छ पो भन्न थाले । मलाईचाहीँ उनीहरूले ‘जोक’ गरेजस्तो लाग्थ्यो । तर, उनीहरूले कलेजका कार्यक्रमहरूमा गीत गाउन निकै जोड गर्न थाले । ख्यालख्यालमै गीतसंगीततिर रहर पो जाग्दै जान थाल्यो । अनि साइन्स पढ्न घरबाट बा–आमाले पठाएको पैसा त गीतसंगीत सिकेर सिध्याउन थालेँ । आइएस्सी पास गरेपछि एमबिबिएसमा नाम निकाल्ने प्रयास गरेँ । तर, नाम निस्किएन । अब झन् संगीततिर मोह बढ्न थाल्यो । संगीत कक्षा लिएकाले पनि मोह बढेको थियो । संगीत सिक्दै बिएस्सी पढ्न थालेँ । तर, जोड संगीततिरै बढी भयो । पढ्न पठाएको पैसाले संगीत सिक्दा खाजा खाने पैसा पनि रहँदैनथ्यो । यो कुरा घरमा भने थाहा थिएन । गोप्य रूपमा सबै गरिरहेको थिएँ । ०५६ सालदेखि औपचारिक रूपमा गायन यात्रा सुरु गरेँ । १९ वर्षको उमेरमै गीत रेकर्ड गराएँ । पढाइ पनि निरन्तर नै चलिरह्यो । फिजिक्समा स्नातकोत्तर गरेपछि बिहानको खाली समय पढाउन पनि सुरु गरेँ । पाँच वर्ष अध्यापनमा बिताए पनि गायनमै व्यस्त हुन थालेपछि पढाउने काम विगत चार वर्षदेखि स्थगित छ ।