विजयपुर । सुनसरीको धरान १ स्थित होली गार्डेन एकेडेमीले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्न अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु गरेको छ ।
आइतबार गोरखा फुटसलमा आयोजित प्रतियोगिताको उद्घाटन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङले बल रेफ्रीलाई बल प्रदान गरी गर्नुभयो । “रोड टु फिफा वर्ल्ड कप–२०२६” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामार्फत विद्यार्थीको खेल प्रतिभा उजागर गर्ने लक्ष्य राखिएको स्कुलका प्रिन्सिपल गुरुङले बताए । उनले सन् २०२६ को फिफा विश्वकपप्रति विद्यार्थीको उत्साह जगाउने उद्देश्यसहित अन्तर–हाउस फुटसल प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका १२ टिम सहभागी छन्, प्रतियोगिताको फाइनल शनिबार हुनेछ । उद्घाटन कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व क्षमता र टोलीभावनाको विकासमा टेवा पुर्याउनेछ। साथै विश्वकप फुटबलको माहोललाई विद्यालयस्तरमै अनुभव गराउने प्रयासस्वरूप प्रतियोगिता आयोजना गरिएको हो।


