पानवारी । पूर्वकै प्रसिद्ध पर्यटकिय स्थल विजयपुर क्षेत्र जाने मूल सडकको स्तरोन्नती गर्ने काम दु्रत गतिमा भइरहेको छ ।

धरान–१ स्थित रेडक्रस चोकबाट धरान–१४ विजयपुर चोकसम्म पुग्ने ८ सय मिटर बाटोको सडक तथा ड्रेन निर्माण कार्य भइरहेको छ । धरान उपमहानगरपालिकाको बहुबर्षिय योजना अन्तर्गत १ करोड ४४ लाखको लागतमा निर्माण भइरहेको ड्रेन तथा सडक यही असार मसान्तमा सम्पन्न हुने फिल्ड इन्चार्ज तथा धरान उपमहानगरपालिकाका इन्जिनियर सौहार्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

सडक निर्माणको ठेक्का पाएको निशान–श्याम–जेवी कन्ट्रक्सन कम्पनीले पूर्वको पर्यटकिय क्षेत्र तथा प्रसिद्ध तिर्थस्थल जाने मुख्य मार्गको रुपमा रहेको विजयपुर पथको स्तरोन्नती गरी ३० फिटको कायम गर्न लागिएको १४ नं. वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले भने अहिले धरानका १४ नं. वडाबासी मात्र नभइ देश तथा विदेशबाट आउने पर्यटकलाई समेत सुविधा हुने वडाध्यक्ष भट्टराईले बताए ।

पूर्वकै प्रसिद्ध तिर्थस्थलको रुपमा रहेको बुढासुब्बा, दन्तकाली, पञ्चकन्या साथै पिण्डेश्वरसम्म पुग्ने मुख्य सडकको रुपमा रहेको विजयपुर पथ निर्माणले धरानको पर्यटनको विकासमा ठूलो टेवा पुग्ने धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले बताए । आदीवासी जनजाती संग्रहालय साथै भताभुंगे राजाको दरबारसम्म पुग्नलाई सोही सडकबाट मात्र पुग्न सकिन्छ । ‘ढिलो भएपनि सडकको स्तरोन्नती गर्ने काम सुरु भएको छ, यो सडक निर्माण सम्पन्न भएपछि पर्यटकहरुलाई सहज हुने भएकोले पर्यटकको संख्यामा समेत वृद्धि हुने’ मेयर सुब्बाले बताए । सुब्बाले ‘धरानको विकासको लागी विजयपुर क्षेत्रको विकास हुनु जरुरी छ र विजयपुरको विकासको लागी सडकको स्तरोन्नती अति आवश्यक भएकोले उपमहानगरले सडकलाई प्राथमिकता दिएको’ बताए ।