धरान/एक नम्बर प्रदेशको राजधानी धरान  हुनु पर्ने माग गर्दै धरानको एक टोली काठमाडौं प्रस्थान गरेको छ । धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा धरानलाई प्रदेशको राजधानी बनाउ स्वतन्त्र अभियान समितिसहित मंगलबार काठमाडौं प्रस्थान गरेको हो । स्वतन्त्र अभियान समिति धरानलाई राजधानी माग्दै एकसाता यतादेखि अनवरत रिले अनसनमा रहेको छ । भण्डारीको नेतृत्वमा समितिका संयोजक आइन्द्रबिक्रम बेघा, सचिव श्याम पोखरेल, माओवादी केन्द्रबाट चोत्लुङ, कांग्रेसबाट किशोर राई, एमालेबाट नारायण सुवेदी, र संघीय समाजवादी फोरमबाट ताजुव लिम्बूको टोली काठमाडौं प्रस्थान गरेको हो । राजधानी माग गरिरहँदा भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को निर्णयले अस्थायी राजधानी विराटनगरलाई तोकेको छ । यता प्रदेशको राजधानी धरानलाई माग्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउन धरानको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीले धरान राजधानीको लागि उपयुक्त रहेको र मन्त्रीपरिषद्को कार्यालय तथा भवनहरु प्रसस्त रहेको साथै हावापानी वातावरण पनि उपयुक्त रहेको दाबी गर्दै आइरहेको छ । गत आइतबारदेखि धरानको भानुचौकमा रिले अससन गर्दै आन्दोलित बनेको छ ।