पानवारी  । वैदेशिक रोजगारबाट घरेलुहिंसा पीडित भई घाइते भएर फर्किएकी भोजपुरकी शान्ता राईलाई सहयोग जुटेको छ । ३ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा इराकको कुर्दिस्तान पुगेकी भोजपुर ट्याम्केमैयुङ्गे–८, की ३४ वर्षीया शान्ता राईलाई युएईमा रहेका भोजपुरेहरुले नगद संकलन गरी ४० हजार रुपैया सहयोग गरेका छन् । भोजपुर हातेमालो समाज युएईले संकलन गरी पठाएको रकम सोमबार समाजका प्रतिनिधि गणेश प्रधानले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ रहेकी पीडित राईलाई हस्तान्तरण गरेका छन् । शान्ता राईलाई कुर्दिस्तानमा घरमालिकले कुटपिट गरी दुवै खुट्टा भाँचीएर चल्न नसक्ने भएको र ढाडमा समेत गम्भिर चोट लागेर मेजर अप्रेसन परेको थियो । उनी गत डिसेम्बर ४ तारिकका दिन कुटपिट भएको थियो भने ढाडको अप्रेसन र खुट्टामा प्लाष्टर गरेर घरधनीले नेपाल पठाएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् भने उनलाई वैदेशिक रोजगारीमा इराक पुर्याउने दलाल स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घले अझै फरार छन् । भोजपुर हातेमालो समाज युएईले पीडितलाई आर्थिक सहयोग गर्दै दलाललाई कार्वाहीको माग गरेको छ । उनलाई सहयोग गर्न इच्छुकहरुले नबिल बैंकको धरान शाखाको खाता नं. १६१००१०५१०८५६ मा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।