सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने षड्यन्त्र गरेको भन्दै धनकुटामा आजदेखि अनिश्चितकालिन आमहड्ताल सुरु भएको छ । सरकारले सार्वजनिक गरेको प्रस्तावित खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर भएको समाचार सार्वजनिक भएपछि धनकुटावासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आह्वान गरेका हुन् ।
आमहड्तालका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन चल्न सकेका छैनन् । एका बिहानैदेखि सयौंको संख्यामा धनकुटावासी सडकमा उत्रिएका छन् । सरकारबिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध पारेका छन् ।
यातायात ठप्प बनाएका जिल्लावासीले मोटरसाईकल समेत गुड्न दिएका छैनन् । जिरोप्वाइन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा गाडी तेस्राएर सडक अवरुद्ध गरिएको छ । बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । सरकारी कदमबिरुद्ध आक्रोशित बनेर आन्दोलन चर्काउने चेतावनी दिएका धनकुटावासीले माग पूरा नभएसम्म आमहड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।
अन्यत्र प्रादेशिक राजधानी स्वीकार नगर्ने अडान राख्दै आएका जिल्लावासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मूल्य चुकाउन पनिपछि नपर्ने चेतावनी दिएका छन् । प्रशासनिक गौडा हुँदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत भई सकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनु पर्ने जिल्लावासीको माग छ ।
प्रादेशिक राजधानी घोषणाका लागि पटक–पटक दबाब दिँदै आएका धनकुटावासीले पछिल्लो तीन साता यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानीका माग गर्दै आएका थिए ।
नयाँपत्रिकाबाट