काठमाडौं/प्रधानन्यायाधीशविरुद्ध अनशनमा बसेका डा। गोविन्द केसीलाई प्रहरीले सोमबार बेलुका पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं अनशन थालेका थिए । पक्राउ परेका केसीलाई मंगलबार अदालत उपस्थित गराइने छ । यसअघि केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतले केसीलाई उपस्थित गराउन आदेश दिएको थियो ।

अनशन शुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको दाबी गर्दै, प्रधानन्यायाधीश गोपाल पराजुलीलाई माफियाको डनको संज्ञा दिएका थिए । सोही विषयलाई लिएर डा. केसीविरुद्ध अदालतको मानहानीको मुद्दा पर्यो र पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश आयो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा। केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको हो । यता केसीले आफ्नो अनशन जारी रहने प्रतिक्रिया दिएका छन् ।

एमालेको निर्णय– नेकपा एमालेले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निणय गरेको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको स्थायी कमिटीको पार्टी एकताको कामलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।  पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने र छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको हो । मंगलबार बालकोटमा बस्ने पार्टी एकता संयोजन समिति बैठकले माओवादी केन्द्र र एमालेका तर्फबाट नेताहरु सम्मिलित कार्यदल बनाइने निर्णय गरेको एमालेले जनाएको छ ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको र त्यसलाई आधार बनाएर नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध बनाइएको भनी असन्तुष्टि व्यक्त गर्दै ‘संविधानको अपव्याख्या गर्दै संविधानको भावना र मर्म विपरीत गएर वर्तमान सरकारले आफ्नो आयु लम्ब्याउने र नयाँ सरकार गठनको ढोका थुन्न खोजेको’ ठहर गरेको छ । एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा राष्ट्रियसभा निर्वाचनको मिति एक महिनाभन्दा लामो समय तोकिनुले यसलाई पुष्टि गर्ने उल्लेख छ ।

बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने काम संविधानको व्यवस्थाअनुसार एकसाथ अगाडि बढाउन सरकारसंँग माग गर्दै निर्वाचन आयोगलाई तत्काल परिणाम सार्वजनिक गर्न र सरकारलाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । राष्ट्रपतिको आग्रह– राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलहर र झाडापखला तथा ज्वरोका कारण मानवीय क्षती भएकोप्रति दुःख व्यक्त गर्दै पीडितको उचित व्यवस्थापन गर्न आग्रह गरेकी छन् । तराई क्षेत्रमा शीतलहरबाट र पश्चिम पहाडका केही क्षेत्रमा झाडापखाला र ज्वरोका कारणबाट मानवीय क्षतिभएको भन्दै राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गर्दै गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रवन्ध मिलाउन आव्हान गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । राहतको घोषणा– सरकारले तराईका २२ जिल्लामा चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायतका न्यायनो सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट– राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद नहुने गरी प्रदेशको अस्थायी राजधानीको टुंगो लगाउन सरकारलाई सुझाव दिएकी छन् । सोमबार बिहान राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश राजधानीको टुंगो लगाउन सुझाव दिएकी हुन् । भेटमा वर्तमान राजनीतिक परिस्थितिबारे पनि छलफल भएको थियो ।  पौडेल पक्षको माग– नेपाली कांग्रेसका नेताहरुले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंंग गर्न माग गरेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलामा नेताहरुले केन्द्रीय कार्यसम्पादन र संसदीय समितिबाट राजीनामा दिन पनि समूहका नेताहरुलाई आग्रह गरेका छन् ।

सोमबार बसेको बैठकमा चुनावमा हारको समीक्षा भएको छ । बैठकले कार्यसम्पादन र संसदीय समिति विधान विपरित भएको भन्दै भंग गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  पुस २७ गते विदा– सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो । सर्वोच्चको आदेश– सर्वोच्च अदालतले बेल्लीज नेपाललाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको छ । मल्ल होटलले बक्यौता नतिरेको कारण देखाउँदै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्व स्वीकृतिसम्वन्धी प्रक्रियाअघि बढाउन नमिल्ने पत्र पठाएको थियो ।

त्यसविरुद्ध बेल्लीज नेपालका ज्ञानेन्द्र श्रेष्ठले हालेको मुद्दामा सुुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले विभागको पत्रलाई अवैधानिक भनेको छ । पत्रकार महासंघको आपत्ति– प्रहरीले समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट बताएका छन् ।  आमसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न पनि महासंघले प्रहरीलाई आग्रह गरेको छ ।

नेविसंघको माग- नेपाल विद्यार्थी संघले संविधानबमोजिम सबै नियमित विद्यार्थीमा निःशुल्क स्वास्थ्य बीमा अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएको टोलीले नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यस्था गर्न माग गरेको हो ।  नेविसंघले सबै क्याम्पसमा विद्युतीय पुस्तकालयको व्यवस्था हुनुपर्ने, लब्धाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडामा दुई/दुईवटा बालविकास केन्द्र स्थापना गर्नुपर्ने लगायतका माग पनि राखेको छ ।  विदेशका खबर– इरानमा गएका केही दिनयतादेखि जारी रहेको प्रदर्शनको क्रममा २३ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाबलबीच झडप हुँदा उनीहरुको मृत्यु भएको इरानको सुरक्षा निकायले जनाएको छ ।

प्रदर्शनहरू जारी रहँदा राष्ट्रपति हसन रौहानीले कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छ् । खेल खबर– राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता सोमबारबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने अखिल नेपाल कबड्डी संघद्वारा भुरीगाउँमा आयोजित पत्रकार भेटघाट जानकारी गराइएको छ ।  प्रतियोगितामा पुरुष र महिलाका आठ–आठ वटा समूहका गरी १९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुने छन् ।