काठमाडौं/ चितवन भण्डाराका बासुदेव श्रेष्ठले गत वर्ष स्मार्ट लाइसेन्स लिए। पहिलो पटकको लाइसेन्स त्यहीँ माथि अत्याधुनिक प्रविधिको, खुसी नहुने कुरै भएन तर त्यो खुसी धेरै दिन टिकेन।

१ वर्ष पनि नपुग्दै उनको लाइसेन्समा टाँसिएको चिप्स उप्कियो। चिप्सलाई लाइसेन्सको मुटु मानिन्छ। व्यक्तिको सम्पूर्ण विवरण त्यसैमा हुन्छ, श्रेष्ठले अहिले चिप्स र कार्डसँगै बोकेर हिँड्छन्। चिप्स हराउने डरले भने उनलाई सताइरहन्छ।

त्यस्तै, चितवन रत्ननगर घर भएका सन्देश भण्डारीको व्यथा पनि उस्तै छ। उनको पनि लाइसेन्स लिएको ९ महिनामै चिप्स उप्कियो।  त्यो चिप्सलाई भण्डारीले पर्समा राखेका र चिप्स पर्सबाटै हराएको उनको भोगाई छ। चिप्स सानो हुने भएकोले हराउनु ठूलो कुरो होइन।

श्रेष्ठ र भण्डारी त प्रतिनिधि पात्र मात्र हुन् लाइसेन्सको चिप्स उप्कने समस्या हजारौँको छ। कतिपयले त उप्किएको चिप्सलाई गमले टाँसेका छन्। यस्तो समस्याको गुनासो अत्यधिक आउन थालेपछि यातायात व्यवस्था विभागले कार्डलाई न्यूजिल्याण्डमा परीक्षणको लागि पठायो।

त्यसमा भएको त्रुटी पत्ता लगाई समस्या समाधान गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए। पहिलो लटमा आएको करीब १ लाख ६० हजार कार्डमा यस्तो समस्या रहेको छ।

यो लटको लाइसेन्सको समस्या त्यति मात्र होइन अस्पष्ट क्याटोगोरी, गैर व्यवसायिक चालक अनुमति पत्र लेखिएको, फोटो चिन्न गाह्रो हुने समस्या थिए।

यसमा भुल सुधार गर्दै विभागले अस्पष्ट क्याटोगोरीलाई स्पष्ट पारेको छ भने गैर व्यवसायिक चालक अनुमति पत्र लेखिएको ठाँउमा चालक अनुमति पत्र लेखेर सच्याइएको छ।

तर, यसमा रहेको मान्छे चिन्न गाह्रो हुने श्यामस्वेत फोटोको समस्या भने समाधान हुन सकेको छैन। यसबारेमा आइटी अडिट गराउँदा सफ्टवेयर नै श्यामश्वेत फोटोको लागि मात्र उपयुक्त हुने भएकोले तत्काल यो समस्या हल हुन नसक्ने महानिर्देशक भट्टराइले स्पष्ट पारे।

पहिलो लटमा स्मार्टकार्ड लिने १ लाख ६० हजार चालकले त्रुटी सहितकै बोक्नुपर्ने छ।

चालकले चाहेको खण्डमा प्रतिलिपि निवेदन दिएर अहिलेको कार्ड लिन सक्ने भट्टराइले जानकारी दिए। पछिल्लो समयमा आएका कार्ड चिप्स कार्डबाट छुट्टिने समस्या नभएको उनले बताए।

सेताेपाटीबाट