काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी गर्न बेलायत सरकारलाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणको क्रममा रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसंग मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयमा भएको भेटमा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले नेपाल अब राजनीतिक स्थायीत्व कायम गर्दे सम्वृद्धिको बाटोमा अग्रसर भएको भन्दै लगानीका लागि आग्रह गरे ।

 जवाफमा बेलायति रक्षामन्त्री ल्यान्क्यास्टरले नेपालको समग्र विकासको क्षेत्रमा लगानीका लागि आफ्नो सरकार सधै सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको नेकपा एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

भेटमा सधै विवादमा पर्दै आएको गोर्खा सैनिकमा काम गर्ने नेपाली सेनाहरुको पेन्सन लगायत सुविधाका सम्बन्धमा संयुक्त कार्यदल बनाएर सम्बोधन गर्ने बारे पनि कुराकानी भएको नेता भट्टराईले जानकारी दिए ।

बेलायती रक्षामन्त्री ल्यान्क्यास्टरले बेलायतमा चार्टर एकाउण्टेन अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई नेपालमा मान्यता दिने विषयमा पनि निर्णय गर्न अध्यक्ष ओलीसंग आग्रह गरेका थिए ।