काठमाडौं/ नेपाली राष्ट्रिय टिमका मिडफिल्डर तथा थ्रीस्टार क्लबका कप्तान विक्रम लामा अस्पतालबाट डिस्चार्ज भएका छन्।
दाँहिने गोडामा चोट लागेका लामा शल्यक्रिया र नियमित फिजियोथेरापी लगायतका पुनस्थापनात्मक उपचारपछि सोमबार डिस्चार्ज भएका हुन् ।
९ दिन अघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका लामाको सोहि दिन राति वरिष्ठ अर्पेथोडिक सर्जन डा चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको थियो। लामाको भोलिपल्ट देखिनै फिजियोथेरापि समेत सुरु गरिएको थियो।
हाल उनको घाउ निको हुँदै गएको र वैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई डिस्चार्ज गरिएको डा. पाण्डेले जानकारी दिए। लामा ६ देखि ८ महिनामा खेल मैदानमा फर्कन सक्ने समेत डा. पाण्डेले बताए।
अस्पतालबाट डिस्चार्जपछि लामाले उपचारमा अस्पताल परिवारप्रति आभार व्यक्त गरे। धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएका लामालाई तत्काल अस्पतालमा ल्याइएको थियो।