उदयपुर/ नेपालको मध्य पहाडी राजमार्गअन्तर्गत हेटौडा–सिन्धुली–कटारी– गाईघाट–धरान–चतरा सडकखण्डमा भइरहेको कामप्रति उदयपुरवासीले असन्तुष्टि पोखेका छन् । नेपाल सरकारले लगाएको ठेक्काअन्तर्गत लामा शर्मा जेभीले गरिरहेको कामबारे उदयपुरबासीहरु अन्ततः मुख खोल्न बाध्य भएका छन् ।

अघिल्लो बर्षबाट काम सुचारु गरेको उक्त कम्पनीले गरेको कामप्रति उदयपुरबासी असन्तुष्ट भएका छन् । नेपालकै क श्रेणीमा रहेको उक्त कम्पनीबाट राम्रो काम हुने आशा उदयपुरवासीले गरेका थिए । तर, काम शुरु हुन थालेपछि स्थानीयहरुमा निराशा उत्पन्न भएको बेल्टार निवासी एक स्थानीयले बताए । उनले भने “ठूला ठेकेदार कम्पनी भनेर नाम सुनेका थियौं तर काम गर्ने कुरामा चाहिँ उनीहरु पनि धेरै पछाडि रहेछन् ।” उनका अनुसार स्थानीय काम नपाएका सिकारु मिस्त्रीबाट र स्थानीय पेटी ठेकदार खोजेर काम गराउँदा रहेछन् ।

कम्पनीले आफूले सरकारसँग सम्झौता गरेको रकममा २० देखि ३० प्रतिशत कमिसन राखेर स्थानीय पेटी ठेकदारबाट काम गराउँदा गुणस्तर नहुने उनले बताए । ठूला ठेकेदारको त नाकमुख पनि स्थानीयबासीहरुले देख्न पाएका छैनन् । निम्नस्तरको काम गरे तापनि ठूला कम्पनीले काठमाडौंमा नै बसेर बिल भुक्तानी लिएर बस्ने र ठेक्कामा कबोल गरेको रकम भन्दा धेरै कम दिएर स्थानीय शिकारु मिस्त्रीबाट काम सञ्चालन गरेको भेटिएको छ ।

उक्त निर्माण सेवाको नामबाट बाटोमा धेरै पेटीदार ठेकदार भेटिएको र उनीहरुले पनि आफूहरुको पनि कुनै काम नभएको र कम रेटमा काम दिएको बताएका छन् । “हामीले पनि दुई÷चार पैसा कमाउनै पर्यो । त्यही भएर ह्यूमपाइप जडान गर्ने काममा हामीले पनि इष्टिमेट अनुुसारको भन्दा अलिक कम सिमेन्ट र फलाम डण्डी प्रयोग गरेको कारण काम नराम्रो नै हुनसक्छ”, पेटी ठेकेदारहरुको स्वीकारोक्ति छ ।

बेल्टारबाट सुरु गरेको काम निरीक्षण गर्ने सिलसिलामा उदयपुरको त्रियुगा नगरपालिकाको चुहाडेसम्मको यात्रामा हेरेको र देखेका सबै कुराहरुबाट पनि लामा एण्ड शर्माले गरेको काममा भनेजस्तो गुणस्तर पाइएको छैन । उक्त कम्पनीको नामबाट बाटोमा रहेका स्थानीय पेटी ठेकदार र स्थानीय मिस्त्रीहरुले पनि सिमेन्ट र बालुवाको प्रयोग गर्दा सिमेन्टको मात्रा कम भएको र गुणस्तरहीन बालुवा प्रयोग गरिएको स्वीकार गरे । उनीहरुले कम सिमेण्ट र गुणस्तरहीन बालुवा प्रयोग गरी ढलाई गरिएकाले काम सम्पन्न नहुँदै काम नलाग्ने भइसकेकाले उदयपुरबासीमा आक्रोश छाएको हो ।

सरकारले समेत आबश्यक निरीक्षण नगरेका कारण काममा लापरवाही भइरहेको सबैको गुनासो छ । स्थानीयहरु भन्दछन् “ठेकेदारहरुले जस्तो काम गरे पनि अफिसले पास गर्नेुपर्ने बाध्यता रहेको छ । किनकि यहाँको सरोकारवाला निकाय स्थानीय तहका पदाधिकारीहरु पनि मौन रहेका छन् ।” सरकार तथा सरोकारवाला निकायले बेलैमा निगरानी नगरेको खण्डमा यो योजनाको रकम बालुवामा पानीसरह हुनेछ ।