मोरङ । विराटनगर भन्सार नाकाबाट मात्रै ६ महिनामा झण्डै ४३ करोड रुपैयाँ बराबरको पिना भारत निर्यात भएको छ ।
भन्सारको तथ्यांकअनुसार साउनदेखि माघसम्ममा जोगवनी नाकाबाट ४२ करोड ८१ लाख ८८ हजार मूल्य बराबरको पिना भारत निर्यात भएको छ । पिना निर्यातबाट विराटनगर भन्सार कार्यालयले यो अवधिमा पैठारी महशुलवापत् ५९ लाख ७९ हजार रुपैयाँ असुली गरेको छ । पिनाको प्रतिकिलोमा ५० पैसा पैठारी महशुल लाग्छ ।
बिहार, पश्चिम बंगाल र पञ्जावमा पिनाको खपत बढी छ । गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तमा पनि विराटनगर भन्सार नाकाबाट ३५ करोड २२ लाख ७७ हजारको पिना भारत निर्यात भएको थियो ।
विराटनगर भन्सारले पिनाको निर्यातबाट यो अवधिमा ५४ लाख ३५ हजार रुपैयाँ पैठारी महसुल असुली गरेको प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो । तथ्यांक हेर्दा पिनाको निर्यात बर्सेनि बढेको देखिन्छ । तोरी मिलमा १ किलो तोरी पेल्दा ४० प्रतिशत तेल र ६० प्रतिशत पिना उत्पादन हुन्छ ।
भारत निर्यात हुने पिना पूर्व क्षेत्रकै तोरी मिलबाट खरिद गरिन्छ । आयात–निर्यात हुने मुलुककै ठूला नाकामध्येको विराटनगर भन्सार कार्यालयबाट निर्यात हुने मुख्य १२ वस्तु भित्र पिना पनि पर्दछ ।