काठमाण्डौ/ सहर–बजारमा केक काटेर जन्मदिन मनाउने प्रचलन संस्थागत हुँदै छ । विशेषतः बालबालिका र यूवा पुस्ता केकसँगै ‘वर्थ–डे सेलिब्रेसन’ गर्न उत्सुक रहन्छ । पछिल्लो समय सबै उमेर समूहलाई आकर्षित गर्न थालेको यो संस्कृति प्रधानमन्त्रीको सरकारी निवाससम्म पनि पुगेको छ ।

शुक्रवार विहानै एमालेका नेता–कार्यकर्ता ‘वर्थ–डे’ केक लिएर बालुवाटार पुगे प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिन । ओली ६७ बर्ष प्रवेश गरेको अबसरमा बिहीवार रातिदेखि नै बालुवाटारमा केक काट्न सुरु भएको थियो । शुक्रवार त विहानैदेखि यो क्रम निकै बढ्यो । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै एमाले स्थायी कमिटीको बैठक बस्नु अघि प्रतिनिधिसभा सदस्य एवं एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ ‘सूर्य’ अंकित केक लिएर बालुवाटार पुगेका थिए । सोही केक प्रधानमन्त्री ओलीले काटेपछि उपस्थित नेताले उनलाई सामुहिक शुभकामना व्यक्त गरे ।

लगत्तै मदन भण्डारी स्पोटर्स एकेडेमीका पदाधिकारी पनि केक बोकेर बालुवाटार भित्रिए । खेलकुद सम्बन्धित संस्था रहेका कारण उनीहरुले लगेको केक ‘फुटवल’जस्तै थियो । एकेडेमीका पदाधिकारीले ओलीलाई पुष्पगुच्छासहित शुभकामना व्यक्त गरेपछि चमकधमकसहित ओलीले अर्को केक पनि काटे ।

प्रधानमन्त्री ओलीलाई विहानैदेखि केक खुवाउने होडवाजी चल्यो । स्वास्थ्यको कारण ओलीको खानपानमा निकै चिन्तित र हरदम साथमै रहने धर्मपत्नी राधिकाले ‘मध्यरातिसम्मै खानुपर्छ होला’ भन्दै थोरै मात्रै खान सुझाइन् ।

प्रधानमन्त्री ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा भएको हो । २०२३ सालदेखि राजनीतिमा क्रियाशिल रहेका ओलीले निरन्तर चौध बर्ष जेल जीवन विताएका छन् । दोस्रो पटक प्रधानमन्त्री बनेका ओली महत्वकांक्षी नेता र स्पष्ट वक्ता हुन् । स्थायित्व र समृद्धिको आफ्नै नाराको चेपुवामा परेका ओली केही गर्नैपर्ने दायित्वमा छन् । दोस्रो कार्यकाल सफलतासहित प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना पनि ।