लहान/ विप्लव समूहले चन्दा माग्दै फोन गर्न थालेपछि यहाँका व्यापारी आतंकित बन्न थालेका छन्। ‘विप्लव समूहको चन्दा आतंक’बाट हैरान बनेको उनीहरू बताउँछन्।
जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष सुनील महतोले विप्लवले चन्दा माग्न थालेपछि व्यापारीहरू आतंकित बनेको बताए। लामो समयदेखि दैनिकजसो फोन गरेर विप्लवका कार्यकर्ता भन्दै चन्दा माग्ने गरेको उनले सुनाए। नेपाली नम्बरबाटै फोन गरेर चन्दा माग्ने गरेको उनको भनाइ छ। ‘फोन गरेर चन्दा माग्नेहरूले आफ्नो नाम भनेका छैनन्’, उनले भने, ‘ती नम्बर ब्लक गरेपछि चैनको सास लिन पाएका छौं।’
स्थानीय प्रशासनकै कमजोरीले गर्दा विप्लवले चन्दा आतंक मच्चाएको उनको आरोप छ। विप्लव कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्न उनले सम्बन्धित निकायसँग मागसमेत गरे।
तराई–मधेसका भूमिगत समूहले पनि चन्दा माग्न थालेका छन्। यससँगै भूमिगत समूह बिस्तारै सक्रिय हुन थालेका छन्। सिरहाका एक व्यापारीले भने, ‘विप्लव मात्र होइन, मधेसमा भूमिगत जयकृष्ण गोइत समूहले पनि चन्दा आतंक जारी राखेको छ।’ चन्दा नदिएपछि बम विस्फोट गराउने गरेको ती व्यापारीले दाबी गरे।
केही वर्षअघि भूमिगत समूहको चन्दा आतंक र हत्या, हिंसालगायत आपराधिक क्रियाकलापका कारण सिरहाका सयौं व्यापारी विस्थापित भएका थिए। भूमिगत समूहको प्रभाव घटेपछि केही जिल्ला फर्केका थिए।
‘स्थानीय जनप्रतिनिधिले मधेस आन्दोलनका बेला पलायन भएका व्यापारी फर्काउने प्रतिबद्धता जनाएका थिए’, लहानका व्यापारी कौशल रामले भने, ‘ शान्ति–सुरक्षामा सुधार आउनुको सट्टा फेरि भूमिगत समूह सलबलाउन थालेका छन्। यस्तो अवस्थामा पलायन भएका व्यापारी फर्किन सक्दैनन्। बरु यहाँ रहेका व्यापारी पलायन हुने खतरा बढेको छ।’
सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले कुनै पनि व्यापारीले चन्दा मागिएको विषयमा जानकारी नदिएको बताए। चन्दा आतंक मच्चाउने व्यक्तिको पहिचान गरी कारबाही गर्ने उनको भनाइ छ।
अन्नपूर्णपाेष्टबाट