चोरी गरेको धनले कति दिन पुग्ला ? दुई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ–केही दिन, केही महिना वा केही वर्ष । तर अचम्म, कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्रै होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि । तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् । काभ्रे स्थायी घर भएका विवेक लामाको पैसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ । पाकेट मारेकै भरमा उनले करोडौं सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नो गाडी छ, घर छ । तर पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।