विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ का बुबा नेत्रप्रसाद उप्रेतीले छोरालाई भेटेका छन् । नेत्रप्रसादले मोरङ अदालत बयान सुरु भइरहेको इजालसमा बिहीबार भेटवर्ता गरेका हुन् । निकै भावुक मुद्रामा मोरङ अदालत पुगेका बुबा नेत्रप्रसाद उप्रेतीले बन्द इजलाशको ‘ब्रेक टाइम’ मा छोरा गोरेसँग आधा घण्टा भेटवर्ता गरे । भेटअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेत्रप्रसादले भने, ‘पटक–पटक मैले छोरोलाई के गर्छस् भनेर सोध्दा कहिल्यै बताएन, सबै राम्रो काम हो भन्थ्यो । एक वर्षअघि सनम र गोरेलाई मैले घरमा आएको बेला लौरोले पनि कुटेको थिएँ, तिमीहरुले के काम गरिरहेका छौ । मैले नराम्रो सुनिरहेको छु भनेर ।’ उनले अहिलेको घटनाले आफूलाई असह्य पीडा भएको बताउँदै भने, ‘जे सोचेको थिइन, त्यही भयो । मन थामेर बसेको छु, मुटु दह्रो पारेको छु ।’ नेत्रप्रसादले आफूले दुई महिनापछि छोरालाई भेट्न लागेको बताए । गोरे प्रायः बुबाको मुख हेर्ने दिन मात्र आफूलाई भेट्न आउने गरेको र अन्य बेला कम आउने गरेको उनले बताए । छोराले गलत गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने बुबाको धारणा थियो । उनले सुनकाण्डमै पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौला र आफू सँगै पढेको साथी भएको पनि बताए । मोरङ अदालतमा बुधबारदेखि गोरेको बयान चलिरहेको छ । गोरेलाई साढे ३३ किलो सुन र अन्य तस्करीसँगै सनम हत्याको मुख्य अभियुक्त बनाइएको छ ।