मधुमल्ला । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीका एक जना सुन ब्यवसायी पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीले उर्लाबारी–६ स्थित सिद्धदेबी ज्वलर्सका सञ्चालक आचार्य पक्राउ परेका हुन् । नेपाल कम्यूनिष्ट पार्टी (तत्कालिन एमाले ) का कार्यकर्ता आचार्य उर्लाबारी–५ मा बस्दै आएका थिए । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन एमालेका उम्मेद्वार बनेर विजयी सांसद घनश्याम खतिवडालाई आचार्यमार्फत गोरेले २ लाख रुपैयाँ सहयोग गरेको जानकार स्रोत बताउँछ । आचार्य पक्राउ परेसँगै उर्लाबारीका ठूलाबडाको निदहराम बनेको छ ।

गोरेको कनेक्सनमा उर्लाबारीका धेरै ठूलाबडाको साँठगाँठ रहेको थियो । उर्लाबारी–७ स्थित मन्डे होटल उर्लाबारीका प्रतिष्ठित ब्यक्तिहरुकै लागि गोरेले अड्डा बनाएका थिए । गोरेसँग दैनिक जसो त्यहाँ ‘जाँड पार्टी’मा रम्नेहरुको ताँती थियो । त्यतिमात्र होइन झापाको दमकस्थित कामाक्षा र वन्डरल्याण्ड होटलमा पनि गोरेको अड्डा थियो । ती होटलमै बसेर गोरेले सुनको कारोबार गर्ने गरेको जानकार स्रोतले बतायो । गोरेले स्थानीय चुनावदेखि प्रतिनिधिसभासम्म सहयोग गरेको देखिन्छ । चुनाव ताका मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार तथा कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूलाई गाडी सहयोग गरेका थिए ।