विराटनगर । विराटनगर भन्सार कार्यालयले जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षण कार्यालयले चेकजाँचको नाममा व्यवसायीलाई दुःख दिने गरेको उद्योगी तथा भन्सार एजेन्टले गुनासो गरेका छन् ।
खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रणमा सरकारी निकायले चासो नदिने तर, वैधानिक हिसावले जाँच पास गराइएका सामानको विभिन्न नाममा जाँच गर्ने हुँदा परीक्षण कार्यालय आफूहरुको लागि हाउगुजी भएको दाबी उनीहरुको छ ।
मालवस्तु पैठारीकर्ताले सामान पैठारी गरेपछि भन्सार विन्दुमा गरेको घोषणाको विश्वसनियता निजको लेखा एवं व्यापार सम्बन्धी अभिलेखको आधारमा परीक्षण गर्ने कार्य भन्सार जाँच पास पछिको परीक्षण हो । नेपालमा २०६६ सालमा स्थापना भएको जाँच पास परीक्षण कार्यालय स्थापना भएको हो । जाँचपास परीक्षण कार्यालयको स्थापना गर्नुभनेको व्यापार सहजीकरण र राजस्व संकलनबीच सन्तुलन कायम गर्नु हो । तर, विराटनगर भन्सार कार्यालयबाट जाँच पास गराउँदा पनि व्यापारीलाई दुःख दिने काम अझै नरोकिएको उद्योग वाणिज्य संघ १ नम्बर प्रदेशका कार्यबहाक अध्यक्ष राजेन्द्र राउतले बताए ।
विराटनगरमा शुक्रबार आयोजित भन्सार जाँच पासपछिको परीक्षण सम्बन्धी स्थलगत अन्तरक्रियामा बोल्दै राउतले यस्तो बताए । सोही कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले भन्सार कार्यालयबाट नियम अनुसार पास भएका सामानको विषयमा बखेडा निकाल्ने तर, तस्करी भएका माल पास भइरहने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अविनाश बोहोराले सन्दर्भ मूल्य सूची कायम भएसम्म भन्सार मूल्यांकनमा द्वन्द्व सिर्जना भइरहने बताए ।
उद्योगीहरुले उठाएको भन्सार जाँच परीक्षणको विषयमा जवाफ दिँदै भन्सार जाँच परीक्षण कार्यालय काठमाडौंका प्रमुख भन्सार परीक्षण प्रशासक किशोर जोशीले व्यापारी आफैंले पनि भन्सारमा पास भएका मालबस्तुको उचित कर तिरेनतिरेको विषयमा ख्याल गरे समस्या समाधान हुने बताए ।
यस्तै भन्सार जाँच परीक्षण कार्यालय काठमाडौंका भन्सार परीक्षक शान्तिराम निरौलाले सहि तरिकाले माल बस्तुको विवरण घोषणा गरे एजेन्ट र व्यापारी कोही पनि दोषि नदेखिने भन्दै सचेत रहन आग्रह गरे ।
कार्यक्रममा उद्योगी, व्यापारी तथा भन्सार एजेन्टहरुले भन्सार जाँच परीक्षणको अवधि घटाउनु पर्ने, मूल्यांकनको विषयलाई लिएर बढी कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, भारत सरकारले लागू गरेको जिएसटी बिललाई मान्यता दिनुपर्ने लगायतका माग राखेका थिए ।