बेलबारी । आदिवासी जनजाति महासंघ समन्वय परिषद केराबारीको भवन निर्माणको लागि वडा नं. ६ निवासी तारामान राईले २ कठ्ठा जग्गा प्रदान गरेको छ । महासंघले उक्त जग्गामा भवन निर्माणका लागि कार्यथालनी गरेको छ । गाउँपालिकाबाट प्राप्त रकमले भवनको जग निर्माणका लागि काम शुरु भएको छ । उता गाउँपालिकाले भने महासंघका लागि ६ लाख मात्र रकम विनियोजित गरेको छ । महासंघले यसविषयमा आपत्ति जनाएको छ । त्यसैगरी आदिवासी जनजाति महासंघले आदिवासी जनजातिहरुलाई अन्तरराष्ट्रिय श्रम संगठन(आईएलओ) बारे सचेतना गराउने उद्धेश्य सहित प्रशिक्षण कार्यक्रमको अभियान चलाएको छ । नेपाल सरकारले आईएलओ अभिसन्धी १६९ मा हस्ताक्षर गरि सकेको दश वर्ष वित्न लाग्दा पनि कार्यान्वयन नगरेपछि यसलाई स्थानीय तहबाट दवाव दिन आवश्यक रहेकोले अभियानको संचालन गरिएको महासंघका अध्यक्ष शुभद्रा राईले बताईन् । २०६४ साल भदौ ५ गते नै अभिसन्धीको लागु गर्छु भनेर नेपाल सरकारले हस्ताक्षर गरेता पनि त्यसको कार्यान्वयनमा नआएको आदिवासी अभियन्ता तथा सहजकर्ता दोर्पध्वज राईले बताएका छन् । आईतवार मोरङको केराबारी ९ स्थित बेलचौरीमा वडा स्तरीय आदिवासीहरुको भेलामा सहजीकर्ता राईले सो बताएका हुन् । प्रशिक्षण कार्यक्रममा किरात राई यायोक्खा , तमु छोंजधिं लगायत स्थानीय संघ संस्था तथा केराबारी ९ का वडा सदस्य नरबहादुर मगरले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । आदिवासी जनजाति महासंघले यस अघि वडा नंं. २ पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वडा समितिहरु गठन गरेर महासंघले प्रशिक्षण कार्यक्रम थालेको महासंघका अध्यक्ष राईले बताईन् ।