भद्रपुर । प्रदेश नम्बर १ अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सय दिने कार्ययोजना अन्तर्गत झापामा पनि प्रहरीको नम्बरसहितको सूचनामुलक स्टिकर टाँसिएको छ । कार्य योजनामा रहेको ‘जनतासँग प्रहरी’ कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यसहित भद्रपुर सदरमुकामबासीको घर–घरमा सूचनामुलक स्टिकर टाँसिएको हो । ‘नागरिक सूचना र सुरक्षाका लागि नागरिकको घरमा स्टिकर टाँस’ नामक अभियान अन्तर्गत सोमबार बिहान प्लेकार्डसहित नगरपरिक्रमा लगायतका कार्यक्रम गरी प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँसिएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा अभियान अन्तर्गतको कार्यक्रम सञ्चालन गरेका हुन् । नगर परिक्रमा पछि आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद अर्जुन कुमार राईले भद्रपुर ८ मा रहेको रमेश कार्कीको घरमा स्टिकर टाँसेर अभियानको शुरुवात गरेका थिए । राईसगै प्रदेश सांसद पूर्णसिं राजवंशी ,बसन्त कुमार बानीयाँ, प्रमुख जिल्ला अधिकारी जनकराज दहाल र एसपी विष्णु कुमार केसीले पनि अन्य घरमा टाँसेका थिए । यस अभियानबाट आमनागरिकलाई आपराधिक घटनाको सूचना आदानप्रदान गर्न साथै शान्ति सुरक्षाको स्थितिलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको झापाका एसपी विष्णु कुमार केसीले जनाए । अभियानलाई प्रहरी कर्मचारीको साथमा अन्य संघ संस्थासँग समन्वय गरेर स्टिकर टाँस गरिने र परिवारको तथ्याङ् पनि सङलन गरिने एसपी केसीको भनाइ छ । यो अभियान प्रदेश नम्बर १ का सबै जिल्लामा एकै साथ शुभारम्भ गरिएको छ भने एक महिनाभर सञ्चालन हुने बताईएको छ ।