भद्रपुर । जिल्ला समन्वय समिति झापाले मापदण्ड विपरीत नदी तथा खोलामा जथाभावी सवारीसाधन प्रयोग गरी उत्खन्न भइरहेको भन्दै ३० वटा ट्याक्टर र ३ वटा ट्रिपर नियन्त्रणमा लिएको छ । जिसस र प्रशासन कार्यालय झापाको आदेश अनुसार सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले भद्रपुर नगरक्षेत्रका नदीबाट आइतबार राती ढुवानीका साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका इन्सपेक्टर दीपेन्द्र गिरीले बताए । मेची, हडिया र देउनिया नदीबाट ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएका ट्याक्टर सीमा सुरक्षा कार्यालय झापामा राखिएको उनको भनाइ छ । जिससले ट्याक्टरहरुलाई कानुन बमोजिम कारवाही गर्ने उनले जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले झापाका नदी तथा खोलामा जथाभावी दोहन भइरहेकोले तत्काल त्यसलाई नियन्त्रण गर्न अनुगमन समिति परिचालन गरिसकेको बताए । प्रतिबन्धित गरिएको खोलाबाट उत्खन्न गरे तत्काल सवारीसाधन नियन्त्रण गर्न प्रहरी खटाइसकेको उनको भनाइ छ । जिसस झापाले जेठ ११ गते देखि लागू हुनेगरि झापाका मेची, निन्दा,टिमाइ,हडिया र देउनिया खोला तथा नदीबाट नदीजन्य सामाग्रीको उत्खनन तथा संकलन गर्ने कार्य बन्द गरि ढुवानीका साधनलाई प्रवेशमा रोक लगाएको निर्णय गरेको छ ।