ताप्लेजुङ/स्थानिय स्थरमा पाईने जडिबुटिको प्रयोगले विभिन्न किसीमका रोगहरूको सजिलै उपचार हुन्छ । तर समाजमा त्यस्ता औषधिय गुण भएका वनस्पतीहरूको पहिचान तथा प्रयोग गर्ने जनशक्ति न्यून हुँदै गएको छ, भने यस्ता वनस्पतिको संरक्षणमा समेत जटिलता देखिएको छ ।

पहिले पहिले कसैलाई दुर्घटनामा चोट लाग्यो या विभिन्न किसिमका रोग लागे स्थानिय स्तरमै पाईने जडिवुटिको प्रयोगबाट उपचार गरिन्थ्यो । यसरी आर्युवेदिक पद्धतिबाट उपचार गर्दा आर्थिक बाेझ पनि कम हुने तथा बिना साईड इफेक्ट रोग निको हुने गर्दथ्यो । तर अहिले बजारमा पाईने एलाेपैथिक औषधिको प्रयोग बढ्दै जाँदा यस्ता अमुल्य जडिवुटि पहिचान गर्ने जनशक्ति समाजमा एक दुई जना मात्र छन् । औषधिय गुण भएका वनस्पतीको प्रयोगले विभिन्न किसीमका रोगहरू निको हुने स्थानिय बताउँछन् । “गाउँ मै धेरै किसीमका रोगहरू निको पार्ने औषधी छ ।” फुङलिङ नगरपालिका वडा नं ३ का तुलसी प्रसाद गिरी भन्छन् “अस्पतालको औषधि भन्दा त कति गुना राम्रो हुन्छ, हुन्छ ।” जंगलमा पाईने पाँचऔँले, लौठसल्ला, सतुवा, चिराईतो, खोकिम, तितेपाती लगायतका वनस्पतीको प्रयोग गर्नमात्र सके रोग त सजिलै निको हुन्छ । साथै यस्ता वनस्पती पहिचान गर्न सक्ने जनशक्तिमा समेत कमि आउँदैन् ।

“पहिले पहिले घरका एक जनाले जडिवुटिको काम गर्थे, अहिले त गाउँ मै पाउन गाह्रो छ ।” गिरी भन्छन् “अब सरकारले पनि यस्तो जनशक्ति विकास गर्न तर्फ ध्यान दिनु पर्यो ।” यस्ता जडिवुटिको पहिचान गर्ने जनशक्तिहरू कम भैरहेकाे बेला स्थानियलाई जडिवुटि पहिचानको तालिम दिनुपर्ने पहिले देखि नै जडिवुटिबाट उपचार गर्दै आएकाहरूको माग छ ।  अझैपनि विकट तथा स्वस्थ्य सेवाको पहुँच नपुगेका स्थानहरूमा धामी झाँक्रिको विश्वास गर्ने गर्दछन् । त्यस्ता क्षेत्रमा रहेका धामी झाँक्रिहरूको गोष्टी आयोजना गरि उनिहरूलाई जडिवुटि सम्वन्धि जानकारी गराउँन आवश्यक रहेको छ । “अझै पनि हाम्रो गाउँघरमा धामी झाँक्रिमा नै विश्वाश गर्ने चलन छ । अब धामी झाँक्रिहरूलाई नै जडिवुटि पहिचान गर्ने तालिम दिनुपर्छ ।” मैवाखोला गाउँपालिकाका राधेश्याम अधिकारी भन्छन् “अनि मात्र जडिवुटिको संरक्षण तथा व्यवस्थापन हुन्छ । नत्र त अबको पुस्ताले यस्लाई चिन्न पनि चिन्दैनन् ।”

यता जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र ताप्लेजुङले पनि आयुर्वेद विभागको निर्देशन अनुसार स्थानिय स्तरमा गएर जडिवुट पहिचानका तालिमहरू सञ्चालन गरिरहेको निमित्त कार्यलय प्रमुख योगकुमार महतोले बताए । “गाउँ गाउँमा गएर जडिवुटि पहिचान सम्बन्धि तालिम दिएका छौँ ।” महतो भन्छन् “अझै पनि आयुर्वेद विभागको निर्देशन अनुशार यस्ता कार्यक्रम छन् ।”  यस्ता खालका गोष्ठि, सेमिनारको आयोजना गरेपनि प्रभावकारी भने देखिएको छैन । निमित्त कार्यालय प्रमुख योग कुमार महतोका अनुसार जिल्लाका दोभान, मेवाखा, तापेथोक, थेचम्वु, साव्लाखु लगायतका स्थानमा गएर विभिन्न जडिवुटिको पहिचान तथा यस्को प्रयोगका बारेमा जानकारी गराईएको छ । यस्ता जडिवुटिको संरक्षण, पहिचान तथा प्रयोगमा सरकारले ध्यान दिन सके यस्ता जनशक्ति बढ्नुका साथै जडिवुटिको संरक्षणमा समेत सहयोग पुग्ने स्थानियको भनाई छ ।

ताप्लेजुङमा पाँच आले, विख्मा, कुट्की, जटामसी, चिराइतो, सर्मागुरू, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, खोकिम, अलैची आदि प्रमुख जडिबुटीहरू पाइन्छ । खोज र अन्वेषणको कमीले धेरै जडिबुटिहरू प्रकाशनमा आएका छैनन् । यस क्षेत्रमा बुहुमूल्य वनस्पतीहरू चाँप, लोठसल्ला, धुपी सल्ला, गुराँस भुइचुक समेत पाइने गरेको छ ।