यस वर्ष संयुक्त राष्ट्रसङ्घको परिषद् बैठकले इन्डिजिनियस पिपल्स माइग्रेसन एण्ड मुभमेन्ट ‘आदिवासीहरुको बसाइ–सराइको अभियान’ भन्ने नाराका साथ विश्व आदिवासी दिवस ९ अगष्ट (२०७५ श्रावण २४ गते) विश्वभरि मनाइँदै छ । आदिवासी भन्नाले आदिमकालदेखि आफ्नो थातथलोमा बसोबास गर्दै आएका र वर्तमान अवस्थामा पनि बसोबास गरिरहेका मानव समुदायलाई नै आदिवासी भनिन्छ भनी विभिन्न दस्तावेजहरुले परिभाषित गरेको छ । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, विश्व बैङ्क, एशियाली विकास बैङ्क, नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८, बृहत् नेपाली शब्द कोश आदिले गरेको परिभाषामा पनि समग्रमा आदिवासी भन्नाले आदिमकालदेखि आफ्नै थातथलोमा बसोबास गर्दै आएका, छुट्टै भाषा, लिपि, धर्म, संस्कृति भएका, आफ्नै परम्परागत सामाजिक सङ्गठन रहेका, मौलिक रहन–सहन र भेषभूषा भएका, प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध गाँसिएका साथै राज्यको स्रोत साधनहरुमा पहुँच नभएका समुदायहरु नै आदिवासी जनजाति हुन् भनी परिभाषित गरेको पाइन्छ । संयुक्त राष्ट्रसङ्घले गरेको परिभाषाअनुसार –‘आदिवासी भन्नाले बाहिरका मानव समुदायले अतिक्रमण गर्नुपूर्व, अनि उनीहरुको भू–भागलाई उपनिवेश बनाउनुभन्दा अघि त्यहाँ विकसित भएका समाजका सदस्यहरु हुन्, जो आज त्यहीँ रहिरहेका तर बाहिरबाट आएका अन्य समुदायभन्दा जसले आफूलाई अलग देख्छन् । वर्तमान अवस्थामा यिनीहरु समाजमा प्रभुत्वविहीन सामाजिक समूहको रूपमा बाँचिरहेका छन् । जुन समुदायले आफ्नो अस्तित्व र पहिचानाई निरन्तरता दिँदै आफ्ना अर्को नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न जो प्रतिबद्ध रहेका छन् ।’

त्यसैगरी अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गरेको व्याख्याअनुसार आदिवासी भन्नाले– ‘आफ्नै अलग सामाजिक साँस्कृतिक र आर्थिक प्रणालीको कारणले राज्यभित्र रहेका अन्य समुदायभन्दा अलग छन्, यिनीहरुको जीवन शैली, आफ्नै रीतिरिवाज वा परम्परागत र सामाजिक कानून पूर्ण वा आंशिक रूपमा अलगै लागू रहेको हुन्छ’ भन्ने बुझाउँछ । विश्व बैङ्कले गरेको परिभाषामा पनि आदिवासी भन्नाले –‘प्रभुत्वशाली समाजभन्दा धेरै अलग र छुट्टै साँस्कृतिक र सामाजिक परिचय बोकेका समूह जसको चौतर्फी विकास हुन बाँकी रहेका समुदाय हो ।’ त्यस्तै बृहत् नेपाली शब्द कोशमा आदिमकालदेखि बसोबास गर्ने जातिहरु नै आदिवासी हुन् भनी उल्लेख गरेको छ भने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले गरेको व्याख्याअनुसार जसको छुट्टै भाषा, लिपि, धर्म संस्कृति, भेषभूषा, सामाजिक रहन–सहन, पेशा व्यवसाय भएका, प्रकृति पूजक साथै जो हिन्दु वर्णाश्रममा नपर्ने समुदाय हो ।’ यसरी विभिन्न सङ्घ–संस्था तथा ऐन कानूनहरूले परिभाषित गरेको विश्वका आदिवासीको अधिकारप्रति विश्वको ध्यान केन्द्रित गराउन संयुक्त राष्ट्रसङ्घले सर्वप्रथम सन् १९९३ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी वर्ष’ को रूपमा मनाउने घोषणा गर्यो । तर त्यस वर्ष घोषणा मात्र भयो कुनै उल्लेख्य कार्य भने हुन सकेन । अर्को वर्ष विश्वका आदिवासी जनताहरुद्वारा पुनः ‘आदिवासी दशक’ मनाउनु पर्छ, भनी संयुक्त राष्ट्रसङ्घमा जोडदार माग गरियो । यसको परिणामस्वरुप सन् १९९४ डिसेम्बर २३ का दिन बसेको राष्ट्रसङ्घको महासभाबाट प्रस्ताव नं.४९/२१४ अनुसार सन् १९९५ देखि २००४ सम्मलाई प्रथम विश्व आदिवासी दशक र सन् २००५ देखि २०१४ सम्मलाई दोस्रो आदिवासी दशकको रूपमा हरेक वर्षको अगष्ट ९ का दिनलाई आदिवासी दशकभरि विश्व आदिवासी दिवस मनाउने निर्णय गरियो । यसरी विश्वका आदिवासीहरुको समस्या र समाजप्रति विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रसङ्घले यो दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि नेपाल आदिवासी जनजाति महासङ्घले विभिन्न कार्यक्रमहरु गरी राजधानी र जिल्लाका सीमित कोठाहरुमा मनाउँदै आए तापनि यसको प्रभाव भने मोफसलमा धिमा सुनिन्छ । आदिवासीहरुको मुद्दा र अधिकार बारे सीमित व्यक्तिहरुको बौद्धिक गोजीमा बाहेक जनस्तरसम्म पुग्न नसकेको कुरा छर्लङ्गै छ । जसको उदारण अधिकांश नगरपालिका र गाउँपालिकाहरूले मानव संसाधन विकासका लागि छुट्टिएको बजेटलाई विकास निर्माणमा रकमान्तर गर्नु जस्ता क्रियाकलापले पनि आदिवासीको मुद्दा र अधिकार प्रति जनप्रतिनिधिहरु सकारात्मक नदेखिनुले पनि यस्ता दिवशको नाममा दिवस नै मात्र मनाउने गरेको बुझ्न सक्छौं । उता केन्द्रीयस्तरदेखि जिल्लास्तरका विगतदेखि वर्तमान नेतृत्व पंक्तिहरु पनि आदिवासीलाई स्थानीयस्तरमा मानव संसाधनमा प्राप्त अधिकारबाट बञ्चित बनिरहँदा मौन बस्नुले पनि जुँगाको लडाइँ, स्वार्थ, अवसरवादबाट मुक्त छैनन् भन्नेमा दुईमत छैन । आगामी दिनमा केन्द्रदेखि जिल्लास्तरका नेतृत्वकर्ताहरुले आदिवासीको मुद्दा र अधिकारहरूलाई साझा मुद्दाको रूपमा साझा अपनत्वको विकास गर्न नसके सह्रस्राब्दी विकासको दिगो विकास लक्ष्यहरुले अपनाएको शान्तिपूर्ण, न्यायसङ्गत र समावेशी समाजको निर्माण गर्न सकिन्छ त ? भन्ने उद्देश्य पूरा गर्न चुनौतीपूर्ण छ ।

यस वर्ष पनि नेपालका आदिवासी जनजातिहरु, अफ्रिकी माहादेशका ट्राइब्स, ल्याटिन अमेरिकाका इन्डिजिनियस कम्युनिटिज चीन र युरोपियन राष्ट्रका नेस्नलिटिज उत्तरअमेरिका नेटिभ अमेरिकन इण्डियन्स क्यानाडाका फस्र्ट नेसन्स अष्ट्रेलिया र न्यूजिल्याण्डका एबोरिजियन्स ब्राजिलका समी मयया एसियाका रेड इण्डियन आदिवासीहरुले पनि अगष्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउँदैछन् । जुन देशका आदिवासीहरुले यो दिवस मनाए पनि आदिवासीहरुको साझा मुद्दा भनेको आफ्नो अतित्व र पहिचानलाई कायम राख्नु नै हो । यसका लागि राज्यपक्ष, गैरसरकारी संस्था साथै शुभचिन्तक सबैको सकारात्मक धारणाको विकास गर्न गराउन पनि यो दिवसलाई विशेष अवसरको रूपमा पनि लिन सकिन्छ ।