कानले आवाज सुन्ने मात्र होइन, शरीरको सन्तुलन पनि मिलाउने काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । मध्यभाग जसले बाहिरबाट उत्पन्न भएको ध्वनिलाई तरङ्गमा ल्याई आवश्यकताअनुसार शरीरभित्र प्रवेश गराउने काम गर्छ । भित्री कान जसले तरङ्गबाट निस्केको ‘मेकानिकल इनर्जी’ लाई ‘विद्युतीय इनर्जी’ मा परिवर्तन गरी मस्तिष्कसम्म पु¥याउने काम गर्छ र मानिसले सुन्छ । सुन्ने प्रक्रियाको कुनै पनि ठाउँमा गडबड भएमा हामी सहज ढङ्गले सुन्न सक्दैनौँ ।श्रवणशक्तिमा ह्रास आउनु, कान पाक्नु, बहिरोपन हुनु, कानमा पिप जम्नु, चोटपटकका कारण कानमा समस्या आउनु आदि कानमा प्रायः भइरहने समस्या हुन् । यस्ता समस्या विभिन्न कारणले हुने गर्छन् ।
१. सङ्क्रमण सङ्क्रमण कानको प्रमुख समस्या हो । सङ्क्रमण कानका तीनवटै भागमा हुनसक्छ । कान पाक्नु, दुख्नु, कानमा पिप जम्मा हुनु आदि कानको सङ्क्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि सङ्क्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा पिप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानको सङ्क्रमण दुई किसिमको हुन्छ । अल्पकालीन र दीर्घकालीन सङ्क्रमण । अल्पकालीन सङ्क्रमणले कान मात्र पाक्छ र सामान्य औषधिले निको हुनसक्छ । तर कान पाक्ने रोग जटिल हुँदा भित्री कानको मस्तिष्क नजिकको हड्डी कुहिएर बाह्रै महिना कान पाकिरहने र कानबाट गन्धसहितको पिप बग्ने हुनसक्छ । यसले मस्तिष्कमा समेत असर पार्न सक्छ । यसको उपचारका लागि कानको शल्यक्रिया नै गर्नुपर्छ ।
२. श्रवणशक्तिमा ह्रास शहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास ल्याउँछ । ६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । विश्वका एक अर्बभन्दा बढी इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरु बहिरोपनको जोखिममा रहेको अनुमान विश्व स्वास्थ्य सङ्गठनको छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित भएको अनुमान गरिन्छ ।
३.चक्कर र वाक्वाकी कानको भित्री भागमा सङ्क्रमण भएपछि यी समस्या देखिन्छन् । कानको भित्री भागमा हुने कक्लिया र भेस्टिबुलमा समस्या आएमा वा भित्री भागमा सङ्क्रमण भएमा चक्कर आउने, वाक्वाक लाग्ने र बान्ता हुने गर्दछ । कानभित्र ट्युमर भएमा पनि नशाको माध्यमबाट मस्तिष्कमा असर पुगेर चक्कर आउने समस्या देखा पर्छ ।
४. कानको दुखाइ कानमा सङ्क्रमण फैलिएमा र कानबाट कानेगुजी आउने बाटो अवरुद्घ भएमा कान दुख्छ । कानेगुजी निकाल्नलाई कोट्याउँदा र कान सफा गर्न तेल हाल्दा पनि कान दुख्छ । कानभित्र जम्मा भएको कानेगुजी प्राकृतिक रूपमा आफै निस्किन्छ । अप्राकृतिक ढङ्गले कानेगुजी निकाल्न कान कोट्याउँदा कानेगुजी निस्किने बाटो बन्द हुन सक्छ र कान दुख्छ । कसै–कसैमा कानभित्र ठोसपदार्थ धेरै भयो र झोल पदार्थ थोरै भयो भने कानेगुजी बाहिर सहजै ननिस्किन सक्छ, त्यस्तो अवस्थामा चाहिँ चिकित्सकको परामर्श लिई कान सफा गर्नुपर्छ । यस्तै, पटक–पटक रुघाखोकी लागिरहने र शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम भएकालाई पनि कानको समस्या आउँछ ।
५. कान चिलाउने शरीरमा दाद र कपालमा चाया भने जस्तै, कानभित्र पनि दाद र चाया दुवै हुन्छ । कानभित्रको दादलाई डर्माटाइटिस भन्ने गरिन्छ । कान चिलाउने अर्को कारण ‘फङ्गस इन्फेक्सन’ हो, जसलाई हामी ढुसी पलाउने भन्छौँ । कानमा ढुसी जम्मा हुँदा कान चिलाउने गर्छ । ढुसी पर्ने समस्या मधुमेहका बिरामी, कान सफा गररहने, कोट्याउने र तेल हाल्ने बानी भएकामा बढी हुन्छ ।
६.दुर्घटनाबाट हुने समस्या कानको समस्या कुनै दुर्घटनामा परी वा कानमा कुनै चोटपटकका कारण आउन सक्छ । जोडले कसैले गालामा थप्पड हान्दा पनि कानमा चोट पुगेर कानको जाली फुट्ने समस्या हुन्छ ।
७. बहिरोपन ६० वर्षमाथिका वृद्घवृद्घामा बहिरोपन हुन सक्छ । उमेर बढ्दै जाँदा शरीर र कानका कोषहरु विस्तारै क्षयीकरण भई कान कम सुन्ने समस्या आउँछ । यो समस्या वंशाणुगत पनि हुने गर्छ । कानको सङ्क्रमणका कारण मेनिन्जाइटिस, मस्तिष्कमा पिप जम्ने रोग, मुख बाङ्गिने आदि समस्या देखापर्ने गर्छन् । कानमा कुनै पनि प्रकारको समस्या देखिएमा बेलैमा सचेत हुनुपर्छ । कान दुखाइसँगै कानका समस्या सामान्य त हुन् नि भनेर चिकित्सककहाँ बेलैमा नजाने हो भने मानिस कान नसुन्ने अवस्थामा पुग्न सक्छ ।
कानसम्बन्धी रोगहरुबाट बच्ने उपाय १. वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाह गर्ने । २. कानमा कुनै पनि झोल पदार्थ नहाल्ने । ३. रुघाखोकीको उपयुक्त उपचार र हेरचाह गर्ने । ४. कानको समस्या भएमा चिकित्सकको परामर्श लिने । ५. बालबालिकामा कानको समस्या भए–नभएको बारे विद्यालयमा शिक्षक र घरमा अभिभावक सचेत हुने । ६. पोषणयुक्त खानेकुरा खाने । ७. सङ्क्रमण फैलिन नदिन समयमै कानको उपचार गर्ने । ८. ध्वनि प्रदूषणबाट बच्ने, जोखिममा रहेकाहरुले जाँच गराउने । ९. जेले भेट्यो त्यहीले कान कोट्याउन वा कानेगुजी निकाल्ने काम नगर्ने ।