पथरीशनिश्चरे/ घरायसी झगडाको क्रममा श्रीमानले मट्टितेल खन्याएर आगो लगाइएकी झापाकी एक भुटानी शरणार्थी महिला उपचारको अभावमा समस्यामा छिन् ।
कमल गाउँपालिका–५ मा दोस्रो विवाह गरेर गएकी शरणार्थी महिला २८ वर्षिया लीलामाया दर्जीलाई श्रीमान भक्तबहादुर दर्जीले घरायसी विवादमा मट्टितेल खन्याएर आगो लगाएका थिए । उनको तत्काल बिर्तामोडको बिएण्डसी अस्पतालमा निशुल्क उपचार भएपनि त्यहाँबाट थप उपचारका लागि अन्यत्र ठूलो अस्पताल लानु पर्ने बीएण्डसी अस्पतालले जनाएको छ । उपचारमा रकम अभाव भएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आसमा त्यहाँ पुर्याए पनि उपचार गर्न नसक्ने भन्दै फिर्ता पठाइएको थियो । पछि आम्दा अस्पताल दमकमा ल्याइए पनि त्यहाँ पनि उपचार गर्न सम्भव नभएपछि पीडितलाई विजोक अवस्थामा उद्धार गरिएको थियो । बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले उद्धारका लागि खबर गरेपछि लायन्स क्लब दमक स्टर्नका अध्यक्ष विमल शर्मा सहितको टोलीले शनिबार राति उद्धार गरी एम्बुलेन्स खर्च व्यहोरेर राति नै धरान पठाएको थियो । भदौ १२ गते राति भएको झगडाका क्रममा उनका श्रीमान ४० वर्षीय भक्तबहादुर दर्जीले लीलामायामाथि मट्टितेल खन्याएर आगो लगाएका थिए । अभियुक्त भक्तबहादुरलाई प्रहरीले भोलिपल्ट पक्राउ गरी आगो लगाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमकको बेलडाँगी १ सेक्टर डी २, छाप्रा नम्बर ११३ मा भुटानी शरणार्थीका रूपमा बस्दै आएकी दर्जीले २ वर्षअघि कमल–५ का भक्तबहादुर दर्जीसँग दोस्रो विवाह गरी ज्याला मजदुरी गर्र्दै आएकी थिइन् । आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन ढकालले करिब ४० प्रतिशत शरीरको भाग डढेकाले आम्दामा उपचार सम्भव नभएकाले धरान रेफर गरिएको बताए । धरान लानु अघि उनलाई निशुल्क उपचार हुने आशामा विराटनगरस्थित कोशी अञ्चल अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसक्ने भनेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । त्यहाँ पनि विपन्न मानिस भएको बुझेर त्यहाँ उपचार हुन नसक्ने भन्दै पन्छिएको जानकारी आएको शिविर सचिव रसाइलीले उल्लेख गरे । उनलाई हालसम्म प्राथमिक उपचार मात्रै भएको र खास उपचारै हुन नसकेर समस्या भइरहेको उनले गुनासो गरे । ‘उनको प्राथमिक उपचार मात्र भएको छ, पैसाको अभावमा राम्रो उपचारै हुन पाएको छैन । सबैतिर हारगुहार गरिरहेको छु तर कसैले सुनेको छैन ।’ उनले दुखेसो पोखे । उनको घाउ दिनानुदिन बढ्दै गएर पाक्ने क्रम भइरहेको बताए । ‘उनी बोल्न त बोल्छिन् तर दिनदिनै गल्दै गएकी छन्, पैसाकै अभावमा एउटा विपन्न मान्छे मर्ने अवस्थामा पुग्नु ज्यादै ठूलो विडम्वना हो ।’ उनले समस्या सुनाए । धरानबाट काठमाडौं उपचारका लागि लानु भनेको छ तर अन्यत्र लाने रकम नभएपछि समस्या भइरहेको उनले बिलौना गरे ।
महिला हिंसाको यसखाले जघन्य घटनामा जिल्ला प्रशासन कार्यालयले समेत खासै चासो नदेखाएको पीडित पक्षको गुनासो छ ।