भद्रपुर । तीनवर्षको अवधिमा झापामा २ सय ३५ ओटा यौनजन्य हिंसाका घटना भएका छन् । झापामा रहेका ८ नगरपालिका र ७ गाउँपालिका गरी पन्ध्रवटा स्थानीय तहमा यस्ता घटना भएका हुन् । जसमध्ये सबैभन्दा बढी विर्तामोडमा ४४ ओटा देखिएका छन् भने ग्रामीण क्षेत्रका स्थानीय तहमा घटना कम देखिएको छ । यो तथ्याङ्क गत आर्थिक वर्ष ०७२ ।७३ देखि आर्थिक वर्ष ०७४।७५सम्मको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा सडक सुरक्षाका लागि युवाको सहकार्यमा बुधबार विर्तामोडमा भएको यौनजन्य हिंसा न्यूनिकरण र सडक सुरक्षामा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजानिक भएको हो । तथ्याङ्कलाइ प्रहरी कार्यालय झापाका एसपी भिमप्रसाद ढकालले प्रस्तुत् गरेका थिए । एसपी ढकालले सार्वजानिक गरेअनुसार नगरपालिकाहरुमा विर्तामोड ४४, दमक ३९, अर्जुनधारा ३२, मेचीनगर २४ ,भद्रपुर १४, शिवशताक्षी १२, कनकाइ ९ र गौरादहमा ५ ओटा छन् । त्यसैगरी गाउँपालिकाहरुमा कमलमा १२, बद्धशान्ती ११ , बाहदर्शि १०, गौरीगञ्ज ९, हल्दीबारी ६ , कचनकवलमा ४ र झापामा ४ ओटा रहेका छन् ।
तथ्याङ्कलाइ तुलना गरेर अनुसन्धान गर्दा शहरीकरणमा बढी घटना हुने गरेको एसपी ढकाल बताउँछन् । बेलुका ६ देखि मध्यरातसम्म बढी घटना हुने साथै १६ देखि २५ वर्ष उमेर समूहका पुरुष यस्मा संलग्न देखिने गरेको ढकालको कार्यपत्रले देखाएको छ । हालसम्म भएका घटनामा डरत्रास, धाकधम्की, ललाइफकाइ, आर्थिक प्रलोभन, शरिरबन्धक,जनचेतनाको अभाव, मादकपदार्थ, प्रेम विवाह, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणबाट हुदै आएको उनले जनाए । पछिल्लो समय यौनजन्य घटना अध्याधिक बढेका कारण न्यूनिकरण गर्ने प्रयासले भदौ ३ गतेबाट घटना हुननदिन २ सय ३५ जना टोलटोलमा प्रहरी खटाइएको उनको भनाइ छ । घटनामा संलग्नलाइ पक्राउ गरी मुद्दा चलाइसकिएको उनले जनाए ।
झापामा ११ सय ६२ जना कार्यरत प्रहरी र ८ लाख ८ हजार ३ सय २४ जनसङ्ख्या रहेको हुँदा ६ सय ५२ जना बराबर एक प्रहरी हुने भएकोले सुरक्षा चुनौती देखिएको उनले जनाए । साधन स्रोत, कम प्राविधिक लगायतको समस्या देखिएको उनले बताए । प्रहरी एकलैले केही गर्न नसक्ने भएकोले स्थानीय तहको कानून निर्माणमा यसलाइ अनिबार्य गराइ खुला दिसा मुक्त,भने झै मदिरा निषेधित, यौनजन्य निषेधित जस्ता कारालाइ छलफल तथा एजेण्डा बनाइनु पर्ने उनको माग थियो ।
त्यसैगरी सडक सुरक्षाको विषयमा जिल्ला ट्राफिक प्रहरीका इन्सपेक्टर राजेश राइले प्रष्ट पारेका थिए । सडकको अवस्था नाजुक, बढ्दो सवारी चाप, सागुँरो सडक , छाडा चौपाया लगायतका समस्या रहेको औंल्याएका थिए । हालसम्म मेची यातायात कार्यालयमा मात्र १ लाख ५६ हजारको हाराहारीमा सवारी दर्ता भएको जानकारी गराए । इन्सपेक्टर राइले ०७२।७३ देखि ०७४।७५ सम्ममा ५ सय ६८ जना सडक दुर्घटनाबाट ज्यान गुमाएको बताए । उनले सार्वजानिक गरे अनुसार ०७२।७३ मा १ सय ९८, ०७३।७४ मा १ सय ९१ र ०७४।७५ मा १सय ७९ जनाले ज्यान गुमाएको जनाए । सङ्ख्या घटेपनि मृत्युदर नघटेको उनको भनाइ छ ।
प्रहरी प्रशासनको नभइ १५ स्थानीय तहका ७ सय ५० जना जनप्रतिनिधि नलागेसम्म घटना न्यूनिकरण नहुने विर्तामोड नगरका मेयर धु्र्व कुमार सिवाकोटीले बताए । आरोपितलाइ थुनेर राज्यको भात खुवाएर यौनजन्य हिंसा न्यूनिकरण नहुने उनको धारणा थियो । नातावाद र कृपावाद लिएर प्रहरीलाइ हस्तछेप गरियो भने कार्यक्रमको कुनै औचित्य नभएको उल्लेख गरेका थिए । हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले सुरक्षाको लागि प्रहरीलाइ मोटरसाइकल दिएर तेलसमेत उपलब्ध गराउदा पनि जनताले सुरक्षा नपाएको गुनासो गरे । सडकभन्दा पनि सवारी पार्किङ् महत्वपूर्ण रहेको गिरीले धारणा राखेका थिए । कार्यक्रममा झापा गाउँपालिका,कमल गाउँपालिका लगायतले आ–आफनो धारणा सार्वजानिक गर्दै सामूहिक प्रतिबद्धता जनाएका थिए ।
एसपी ढकालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सडक सुरक्षाका लागि युवाका कोषाध्यक्ष उमेश रेग्मीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष राजिना पाण्डेले सडक दुर्घटनाका कारण तथा न्यूनिकरण र यातायात व्यवस्थापन सम्बन्धि कार्यपत्र पेश गरेकी थिइन् । सचिव नरेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रहरी प्रशासन, पत्रकार लगायतको सहभागिता रहेको थियो ।