बेलबारी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ स्थित राजमार्ग उत्तरमा भीमा श्रेष्ठको घरका बुधवार विहान साढेपाँच बजेतिर आगलागी हुँदा पचास लाख बराबरको धनमाल नष्ट भएको छ । विहानको समयमा अचानक आगलागी हुँदा श्रेष्ठ परिवार भने ज्यान जोगाउन सफल भएका छन् । तर आगलागीबाट पचास लाख भन्दा बढीको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । घरको विद्युत सर्ट हुँदा आगलागी भएको स्थानीयहरुले अनुमान लगाएका छन् । श्रेष्ठको दुईतला भएको घरको मुनि ढलाई र माथिबाट काठको घर भई टिनको छाना लगाएको घर रहेको थियो । आगलागी हुने वित्तिकै स्थानीय वासिन्दाहरुले सुन्दरहरैंचाको दमकललाई बोलाएता पनि केहि ढिलो गरेको स्थानीय वासिन्दाहरुको भनाई छ । फोन गरे लगत्तै आएको भए केहि सामान जोगाउन सकिने स्थानीयहरुको भनाई छ । घटना स्थलमा सुन्दरहरंैचाको दमकल किन ढिलो आयो भनि स्थानीय वासिन्दाहरुले आपत्ति जनाएका थिए । स्थानीयवासिन्दाहरु वडा नं. ७ का वडाध्यक्ष चैतन्य सिटौला संग दमकल ढिलो आएको विषयमा आपत्ति प्रकट गरेका थिए । अध्यक्ष सिटौलाले केहि कमीकजोरी भएको छ भने त्यसलाई जाँचबुझ गरि आगामी दिनमा सुधार्ने बताए छन् ।