पाँचथर । स्वास्थ्य चौकिमा प्रशुती गराउने क्रममा मृत्यु भएकी याङवरक गाउँपालिका–३, ओयामकी गीता देवान सेलिङको तीन दिनपछि बुधबार पोष्टमार्डम गरिएको छ ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले मृतकको पोष्टमार्डम गराउन मानेका थिएनन् । गाउँपालिका उपाध्यक्ष कमला योङहाङको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेपछि गीताको पोष्टमार्टम गर्न आफन्त राजी भएका हुन् । योङहाङ नेतृत्वको छानबिन समितिले १५ दिनभित्रमा प्रतिवेदन बुझाउनेछ ।

गीताका आफन्तले चिकित्सकको लापरबाहीले आमा र शिशुको ज्यान गएको दाबि गर्दै लापरबाही गर्ने चिकित्सकलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् । आफन्तको अनुसार गीतालाई उनको श्रीमान मनिष सेलिङले शुक्रबार प्रशुती गराउन ओयाम स्वास्थ्य चौकि तथा बर्थिङ सेन्टर पु¥याएका थिए ।

स्वास्थ्य चौकिका इन्चार्ज तेजबहादुर शाही व्यक्तिगत काममा अत्यत्रै गएर आइतबार अबेर मात्र कार्यालय आइपुगेकाले पर्याप्त उपचार नपाई गीतको मृत्यु भएको आफन्तको दाबि छ । तर स्वास्थ्य चौकिका कर्मचारीले भने आइबार साँझ रेफर गरिएकी गीताको जिल्ला अस्पताल पुगेपछि मात्र मृत्यु भएको बताउदै आएका छन् ।

घटनालाई मिलाउन परिवारलाई पैशाको आश्वासन समेत दिइएको प्रशंग बाहिर आएको छ । जिल्लाका जिम्मेवारी ओहोदाका व्यक्ति र दलका नेताहरुको समेत संलग्नतामा गाउँपालिकाले एक लाख, वडा कार्यालयले दश हजार र स्वास्थ्यकर्मीले ५० हजार पैशा दिएर मृतकका परिवारलाई मनाउन प्रयास गरिएको स्रोतको दाबि छ ।

आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पटक–पटक गएको बताएका छन् । तर पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवँरले उजुरी दिन कोही पनि नआएको पत्रकारलाई प्रतिक्रिया दिएका छन् । मानवअधिकारकर्मी मंगल बेघाले यो घटनालाई आमा र शिशुको लासमाथिको निर्मम अन्यायको संज्ञा दिएका छन् ।

उनले मृतकका आफन्त र स्वास्थ्यकर्मीको फरक–फरक धारण आइरहेको उल्लेख गर्दै ‘... यो घटना वार्ता एवं छलफलबाट मिलाउने बिषय हो, होइन ?’ प्रश्न गरेका छन् । यता गाउँपालिका उपाध्यक्ष तथा छानबिन समितिका संयोजक योङहाङले भने गाउँपालिकाले एक लाख दिने भन्ने कुरा सत्य नभएको दाबि गर्दै घटनाको निष्पक्ष छानबिन गर्ने बताएकी छिन् ।