पानवारी ।  भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा धरान उपमहानगरपालिकामा भूकम्पको हल्लाई नाप्ने यन्त्र एक्सेलेरो मिटर जडान गरिएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका प्राविधिकहरुले आइतबार धरान उपमहानगरपालिकाको एक कोठामा यन्त्र जडान गरेका हुन् । एक्सेलेरो मिटर भूकम्पले जमिनलाई कति हल्लायो भनेर नाप्ने यन्त्र हो । यसले भूकम्प आउँदा जमिन दायाबाया र तल माथि कति हल्लियो भनेर नाप्ने गर्दछ । सामान्यतया भूकम्पलाई रेक्टर स्केलमा नाप्ने गरिएको भएपनि रेक्टर स्केलको आधारमा जमिन कति हल्लियो भन्ने पत्ता नलाग्ने धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले बताए । उनका अनुसार रेक्टर स्केलले भूकम्पको शक्ति मात्रै मापन गर्दछ । सो यन्त्र काठमाडौमा मात्रै छ, धरानमा पहिलो पटक स्थानीय तहले सो यन्त्र राखेको हो । अहिलेसम्म नेपालमा डिजाइन भएका भौतिक संरचनाहरु १९९० सालमा आएको भूकम्पले काठमाडौमा एक्सेलेरो मिटरले नापेको आधारमा डिजाइन हुँदै आएको इन्जिनियर सुरज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अब धरानमा भूकम्प गएको खण्डमा यस यन्त्रले जमिनको हल्लाईको मापन गर्ने भएकोले भविष्यमा रिसर्च र डिजाइनमा सहयोग पुग्ने बताए । भुकम्पले भू बनोट अनुसार जमिन हल्लाउने हुँदा एकै रेक्टर स्केलको भूकम्पले कहि धेरै र कहि थोरै क्षती गर्दछ । यन्त्रलाई इन्टरनेटको माध्यमबाट काठमाडौमा नै बसेर अपरेट गर्न सकिन्छ ।