भद्रपुर/एकपक्षीय रूपमा अध्यक्षले गाउँ सभा गरेको भन्दै झापाको कचनकवल गाउँपालिकामा उत्पन्न विबाद अझै टुङ्गिन सकेको छैन । शनिबार दोस्रो गाउँ सभाका क्रममा असन्तुष्ट पक्षधरले माइक फुटाउने प्रयास गरेपछि एक महिला सदस्यलाई चोट लागेको थियो । गाउँपालिका अध्यक्ष आलमले उद्घाटन भएको घोषणा गरेलगत्तै असन्तुष्ट पक्षले माइक्रोफोन खोसेर टेवुल फुटाउँदा परिषद सदस्य समेत रहेकी लक्ष्मीदेवी लिम्बू घाइते बनेकी थिइन् । हातपातको स्थिति सिर्जना भएपछि गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले कार्यक्रम आइतबार बिहानसम्मका लागि स्थगित गरेका थिए । अध्यक्ष आलमले बहुमतको आधारमा एकलौटी ढङ्गबाट दोस्रो गाउँसभा गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले विबाद खडा गरेका थिए । विबाद अझै समाधान हुन सकेको छैन । विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले कार्यक्रम स्थलमा जवरजस्ती गर्न पाइदैन, गाउँ सभा बन्द गर, जनताको मागलाई पूरा गर लगायतका नाराबाजी गरिरहेपनि अध्यक्षले घोषणा गरेपछि परिषद सदस्यबीच घम्साघम्सी हुँदा लिम्बूलाई कञ्चटमा चोट लागेको थियो । विवादले उग्ररूप लिएपछि सभा उद्घाटन भए पनि स्थगित भएको थियो । घटनापछि आइतबार विहान ८ बजेसम्मलाई सभा स्थगन भएको अध्यक्षले घोषणा गरेका थिए । सभाबाट उनीहरूलाई कडा सुरक्षाकाबीच प्रहरीले गन्तव्यसम्म पुर्याएको थियो । घटनालाई लिएर कचनकवल–६ स्थित सामुदायिक भवनमा विपक्षीले आइतबार विहान ताला लगाएपछि बन्द सत्रको लागि आएका समर्थकहरू गाउँपालिका कार्यालयमा नै बन्द सत्र गर्ने भन्दै योजना बनाएका थिए । बजारमा भेला भएका प्रदर्शनकारीले सडकमा टायर बाल्दै विरोध र्याली प्रदर्शन गरेका थिए । र्यालीसहित गएका प्रर्दशनकारीले गाउँ सभा स्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेका थिए । विपक्षीले गाउँपालिकामा ताला लगाउन खोजे पनि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई बाटैमा रोकेपछि घटनास्थल तनावग्रस्त बनेको थियो । अध्यक्ष आलमले वार्ताबाट समाधान खोज्न अपरान्ह ३ बजे समय तोकेपछि भीड शान्त बनेको थियो । वार्ताका लागि असन्तुष्ट पक्षबाट भूमि राजवंशी, कालेन्द्र राजवंशी, तुलाराम अधिकारी, शेरबहादुर खत्री र बुद्धि नेपाल रहेका छन् भने गाउँपालिकाबाट अध्यक्ष आलम, उपाध्यक्ष निमसरी राजवंशी, र तीनजना वडाध्यक्षहरूमा वडा नम्बर–७ का भरत राजवंशी, ६ का कुलबहादुर कार्की र १ का लक्ष्मीनारायण यादव रहेको १ नम्बर वडा सदस्य उमाशङ्कर गणेशले जानकारी दिए । वार्तामा विपक्षले शनिबार उद्घाटन गरिएको गाउँसभा पुनः पत्र काटेर गरिनु पर्ने, साविकमा रहेको गाउँपालिकालाई सार्न लागिएको स्थान उपयुक्त नभएकोले पुनः सूचना जारी गरिनुपर्ने, अध्यक्षको मनोमानीलाई तत्काल सच्याउनु पर्ने, मर्मत सम्भारमा गरिएको काम पारदर्शी तवरले सार्वजानिक हुनुपर्ने लगायतको पन्ध्र बुँदा समेटिएको विषयवस्तु वार्तामा लगिएको सदस्य गणेशको भनाइ छ । दोस्रो दिन पनि गाउँ सभा हुन सकेन । शनिबारको विवादलाई लिएर गरिएको अवरोधका कारण दोस्रो दिन पनि सभा हुन सकेन ।
शनिबार गाउँपालिकाले सभाको प्रमुख आतिथ्यका लागि तात्कालीन एमाले, राप्रपा र माओवादीको गठबन्धनबाट क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य एमालेका वसन्त वानियाँलाई निमन्त्रणा गरेका थिए । उनी समयमा नै आए पनि प्रर्दशनकारीले नजान आग्रह गरेपछि वानीयाँ कार्यक्रम स्थलमा पुगेनन् । शनिबार विहान १० बजे हुने भनिएको कार्यक्रममा वानियाँलाई आउन नदिएपछि विरोधका बावजुद दिउँसो २ बजे गाउँपालिका अध्यक्ष आलमले उद्घाटन भएको घोषणा गरेपछि सभा स्थल उग्ररूप भएको थियो । अप्रिय घटना हुन नदिन सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । सुरक्षाकर्मीले प्रर्दशनकारीलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए । सभा उद्घाटनपछि विरोधमा उत्रिएकालाई सम्बोधन गर्नुपर्ने नत्र घेरेर राख्ने विरोधीहरूले जनाएपछि अध्यक्षले स्थगन भएको जानकारी दिए पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै जनताले घेरा हालेपछि कडा सुरक्षाकाबीच अध्यक्ष आलम, उपाध्यक्ष निमसरी राजवंशी लगायत राप्रपाबाट निर्वाचित जनप्रतिनिधिलाई प्रहरीले सुरक्षा घेरा हालेर लगेको थियो । गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले बहुमत देखिएको छ ।
गाउँपालिका सार्न खोजेको विरोध वनियानी बजारबाट गाउँपालिका सार्न लागेको भन्दै उनीहरूले रोक्न विरोध गरेको जनाएका छन् । असन्तुष्ट पक्षले सभा स्थगन गर्नुपर्ने भन्दै वनियानी चोकमा टायर बालेर कार्यक्रममा अवरोध जनाएका थिए । बजारमा रहेको गाउँपालिकालाई अध्यक्ष लगायतले साविकको वालुवाडी गाविस हाल कचनकवल–७ मा शुसिल अग्रवालले दिएको १५ कठ्ठा जग्गामा गाउँपालिका लैजान लागेकोमा विरोध जनाएको वडा नम्बर १ का सदस्य उमाशङ्कर गणेशले बताए । एकलौटी रूपमा जुनसुकै निर्णय अध्यक्षले गर्ने गरेकोले अन्य सदस्यको कुनै काम नभएको उनले जनाए । गाउँपालिकाले ठूला योजनामा सम्बन्धित वडा अध्यक्षलाई समेत जानकारी नगराई उपभोक्ता समिति नै गठन नगरी काम गरेको ४ नम्बर वडा सदस्य आयुव मियाँले आरोप लगाए । विभेदपूर्ण तवरले बजेट विनियोजन गराएको र गत वर्षको खर्च भएको केही जानकारी नपाएको उनीहरूको भनाइ छ । सबै प्रक्रिया पूरा गरेर जग्गा निःशुल्क पाएको उपाध्यक्ष निमसरी राजवंशीले जनाइन् । तोकिएको क्षेत्रभित्र दिने दाताले जति दिए पनि गाउँपालिकाले लिने र उचित स्थानमा कार्यालय स्थापना गर्ने उनको भनाइ छ ।